
दरौंदी आयोजनाको पानीलाई मिनरल वाटर बनाउने उपभोक्ता संस्थाको योजना
अनुपमा खनाल :
दरौंदी बृहत पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले मिनरल वाटर उत्पादन गर्ने योजना बनाएको छ । गोरखा सदरमुकाममा शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले योजना सार्वजनिक गरेको हो ।
सँस्थाले माग भन्दा धेरै पानी उत्पादन गर्ने भएकाले बचेको पानी मिनरल वाटरका रुपमा बोटलिङ गरी बिक्रि गर्ने योजना रहेको सँस्थाका अध्यक्ष बद्री मास्केले बताए । ‘दरौंदीको पानी दैनिक २७ लाख लिटर तान्न सकिन्छ’, उनले भने, ‘यो पानी २२ वटा खानेपानी समितिमार्फत उपभोक्ताको धारामा पुग्छ । वितरण क्षेत्रमा अहिले दैनिक १५ लाख लिटरले सबैलाई पानी पुग्छ । बाँकी रहेको दैनिक १२ लाख लिटर पानी बोटलिङ गरेर बिक्री गर्ने हाम्रो योजना छ ।’ आरोप्लान्ट स्थापना गरेर पानी बोटलिङ गरी बिक्रि गर्नसके जिल्लामा अन्यत्रबाट बोटलका पानी ल्याउनु नपर्ने उनको तर्क छ ।
यसका लागि लगानीको ब्यबस्थापन गर्ने तयारी भैरहेको अध्यक्ष मास्केले जानकारी दिए । ‘दरौंदी लिफ्टिङ खानेपानी आयोजनाको लागत ६० करोड हो’, उनले भने, ‘सरकारको ९० प्रतिशत अनुदान रहन्छ । बाँकी दश प्रतिशतमध्ये उपभोक्ताको तर्फबाट एक प्रतिशत नगद अर्थात ६० लाख रुपैयाँ संकलन गर्नुपर्छ । त्यही पैसा हामीलाई यो मिनरल वाटर उद्योगमा लगानी गर्न दिनुहोस भनेर आयोजनासँग अनुरोध गरेका छौं ।’ सबै उपभोक्ताको स्वामित्व रहनेगरी मिनरल वाटरको योजना ल्याएको उनले बताए । ‘बोटलको पानी बिक्री गरेको रकम अक्षयकोष बनाउने वा पानीको महसुलमा घटाउने भन्ने विषयमा छलफल भएको छ’, उनले भने ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लमजुङ मार्फत बनेको आयोजनाको काम ९० प्रतिशत सकिएको कार्यक्रममा जानकारी दिईएको छ । २०७४ असार २७ गते ३ बर्षभित्र काम सम्पन्न गर्ने भन्दै तुदिरमन जेभी कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो । तर म्याद भन्दा अघि नै आयोजना सम्पन्न हुने संस्थाका अध्यक्ष मास्केले बताए । ‘दशैंसम्ममा दरौंदी लिफ्टिङको पानी उपभोक्ताको घरमा पुग्छ’, उनले भने, ‘अब केहि प्राविधिक काम मात्र बाँकी छन् ।’ दरौंदीस्थित जरेबरबाट उपल्लो कोटसम्म लिफ्ट सिस्टमबाट खानेपानी ल्याएर वितरण गर्न २० देखि ६ सय घनमिटरका २३ ट्यांकी निर्माण भइसकेका छन् । तर उपभोक्ता समितिले अझै थप पाँचवटा ट्यांकी बनाउन माग गरेको छ ।
खानेपानी तथा ढल निकास विभागको सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत बनेको आयोजनाबाट गोरखा नगरपालिकाको वडा नं ३ देखि ८ सम्मका बासीन्दालाई पानी उपलब्ध गराइने छ । यसबाट चार हजार आठ सय ४८ घरका झन्डै २५ हजार स्थानीय लाभाविन्त हुनेछन् । उपभोक्ता संस्थाले कार्यक्षेत्रभित्रका २२ खानेपानी समितिलाई थोकमा पानी बिक्रि गर्नेछ । आयोजनाको स्टमेटमा नयाँ धारा जडान गर्न १८ हजार नौ सय ८४ रुपैयाँ लाग्ने उल्लेख छ । तर उपभोक्ता समितिले प्राविधिकसँगको सल्लाहमा प्रतिधारा सात हजार पाचँ सय रुपैयाँमा जडान गर्न सक्ने निष्कर्ष निकालेको अध्यक्ष मास्केले जानकारी दिए । स्टमेट अनुसार पानी महसुल दर बेसएयरको न्युनतम मासिक चार सय ८१ रुपैयाँ पर्नेछ । आयोजनाको पानी महंगो रहेको अध्यक्ष मास्केले बताए । ‘पाँच वटा पम्प चलाएर पानी तान्नुपर्छ यसैले महंगो छ ।’ उनले भने ।




