| आइतवार, कार्तिक २९, २०८३

जनता आवास कार्यक्रम अन्तरगत बन्ने घर छनौट

 

जनता आवास कार्यक्रम अन्तर्गत गोरखामा यो वर्ष बन्ने एक सय ५४ घर छनौट भएका छन् । शहरी विकास तथा भवन कार्यालय गोरखाका प्राविधिकले सर्भे गरी प्राथमिकताका आधारमा सिफारिस गरेका नयाँ बन्ने घरको विवरणलाई जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले स्विकृत गरेको हो ।

जनता आवास कार्यक्रम अन्तरगत गतबर्ष छनौट भएका जातीय समुदायलाई निरन्तरता दिँदै यो वर्ष लोपोन्मुख, अति सिमान्तकृत, दलित, विपन्न मुसलमान लगायतको घर छनौट भएको शहरी विकास तथा भवन कार्यालय गोरखाका इन्जिनियर अजय श्रेष्ठले जानकारी दिए ।

यो बर्ष चेपाङ समुदायका ३९, दलित समुदायका ५१, कुमाल समुदायका २४, बराम समुदायका २५, भुजेल समुदायका २, माझी र मुस्लिम समुदायका ५÷५, कुसुण्डाका २ र गन्धर्बको एक घर बन्ने इन्जिनियर श्रेष्ठको भनाई छ । गण्डकी गाँउपालिकाको मकैसिङ, घ्याल्चोक, भुम्लिचोक र ताङ्लीचोक तथा शहीद लखन गाउँपालिकाको ताक्लुङका ३९ चेपाङ परिवारको घर जनता आवास कार्यक्रम अन्तरगत बन्ने भएका छन् ।
यस्तै, गोरखा नगरपालिकाको वडा नं ५, ६, ७, ८, १० र १२ का ३२, गण्डकी गाउँपालिकाको घ्याल्चोक र आरुघाट गाउँपालिकाको भलाकका एक÷एक, धार्चे गाउँपालिकाको लापुवेशीमा छ, सिरानचोक गाउँपालिकामा पाँच, अजिरकोट गाउँपालिकाको हंसपुर र चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा तीन÷तीन घर दलित समुदायको घर बन्नेछन् ।

यो बर्ष गोरखा नगरपालिका १२ मा नौ, पालुङटार नगरपालिका ७ च्याङलीमा १२ र भीमसेन थापा गाउँपालिका बोर्लाङका तीन परिवार कुमाल समुदायको घर बन्ने भएका छन् । बराम समुदायका २५ घर अन्तरगत आरुघाट गाउँपालिका थुमी, भलाक र स्याम्राङका पाँच÷पाँच, बारपाक सुलिकोटको ताकुकोटमा पाँच र सिरानचोक गाउँपालिकामा पनि पाँच घर बन्नेछन् ।

अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकाका एक÷एक घर भुजेल परिवारको घर पनि जनता आवास कार्यक्रम अन्तरगत बन्ने भएको छ ।
गण्डकी गाउँपालिका घ्याल्चोकका पाँच घर माझी समुदाय र गोरखा नगरपालिका २ ताप्लेका पाँच घर मुस्लिम समुदायको घर पनि कार्यक्रम अन्तरगत निर्माण हुनेछ । गोरखा नगरपालिका १० का दुई घर कुसुण्डा, पालुङटार नगरपालिका ५ को एक घर गन्धर्व परिवारको घर पनि कार्यक्रम अन्तरगत नै बन्ने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

विभिन्न समुदायका दुईसय २६ घर बैकल्पिक सूचीमा परेका छन् । उनीहरुलाई आगामी आर्थिक बर्षका कार्यक्रममा समेट्दै जाने जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले निर्णय गरेको छ । गत वर्ष छनौट भएका ८३ घर पनि अहिले निर्माणको क्रममा रहेका इन्जिनियर श्रेष्ठले जान कारी दिए । छनौटमा परेका घरहरु आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने कार्यालयको योजना छ । भूकम्पपीडित लाभग्राही सूचीमा नपरेकाहरुलाई जनता आवास कार्यक्रममा समेटिएको हो । यसअघि संघीय सरकार अन्तर्गत रहेको जनता आवास कार्यक्रम यो वर्ष प्रदेश सरकार मातहत छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष जनता आवास कार्यक्रमका लागि ८ करोड ७९ लाख रुपैया विनियोजन गरेको छ । एउटा घर निर्माणका लागि सरकारले चार किस्तामा तीन लाख ३२ हजार पाँचसय रुपैया अनुदान दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्