
खानीगाउका बासिन्दा जोखिम ठाउमा बस्न बाध्य
किरण लोहनी :
राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थानान्तरणका विषयमा चासो नदिँदा गोरखाको धार्चे गाऊँपालिका ७ खानीगाऊँका बासिन्दा जोखिमपूर्ण वस्तीमा बस्न वाध्य भएका छन् । प्राधिकरण आफैंले भौगर्भिक सर्भेक्षण गरि उक्त वस्ती पहिरोको जोखिममा रहेको निक्यौल गरेको थियो । सो वस्तीलाई सुरक्षित ठाऊँमा स्थानन्तरण गर्नुपर्ने ठहर गर्दै अध्ययन टोलीले प्रतिवेदन पनि बुझाइसकेको छ । झण्डै डेढ महिना अघि बुझाइएको प्रतिवेदन प्राधिकरणको कार्यकारी समितिमा थन्किएको छ । लापुको खानीगाऊँ सहित भूकम्प प्रभावित अरु जिल्लाका वस्ती स्थानान्तरण सम्बन्धी प्रतिवेदनबारे कार्यकारी समितिमा छलफलनै शुरु नभएको समितिका सदस्य हरेराम पराजुली ले बताए ।
समितिको पछिल्लो बैठकमा आफूले त्यसबारे कुरा उठाएपनि प्रतिवेदनमाथि छलफलनै शुरु नभएको उनको भनाई छ ।
कार्यकारी समितिमा छलफलपछि प्रतिवेदन निर्देशक समितिमा पेश हुने प्रावधान छ । प्रधानमन्त्री संयोजकत्व को निर्देशक समितिले अनुमोदन गरेपछि मात्रै बस्ती स्थानान्तरण सम्बन्धी प्रक्रिया औपचारिक रुपमा अघि बढ्नेछ । कार्यकारी समिति सदस्य पराजुली सहितको प्राविधिक टोलीले खानीगाऊँको भौगर्भिक सर्भेक्षण गरेको हो । प्राविधिक टोलीले पूरै वस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको हो । नयाँ ठाऊँमा वस्ती विकासका लागि सम्भावित जग्गाको छनौट गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । जसअनुसार केही जग्गाको खोजी गरिएपनि स्थानीय बासिन्दा सर्न नमानेको धार्चे गाऊँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । लापूवेशी वा आरुघाट गाऊँपालिकाको वयाकमा वस्ती स्थानान्तरण गर्न सकिने गुरुङको भनाई छ ।
केही बासिन्दा लापूवेशीमा सर्न तयार भएपनि एकमत हुन नसकेको उनको भनाई छ । स्थानीय बासिन्दासँग थप छलफलका लागि छिट्टै खानीगाऊँ जाने उनले बताए । वर्षा लागेसँगै यो वर्ष फेरि पहिरो जान थालेपछि गोरखाको खानीगाऊँका बासिन्दा भने त्रसित बनेका छन् । गतर्षदेखिनै पहिरो को जोखिममा परेको सो गाऊँमा यो वर्ष पनि पहिरो जाने क्रम शुरु भएको हो । पहिरोका कारण गत वर्ष ४० घरधुरी विस्थापित भएका थिए । यो वर्ष सामान्य वर्षामै वस्तीको जमिन चिरिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका खानीगाऊँका जीते गुरुङले बताए । गत वर्ष विस्थापित भएका मध्ये ५ घरधुरी नजिकैको कोलडाँडा भन्ने ठाऊँमा अस्थायी टहरा बनाएका बसेका छन् । धेरैजसो परिवार भने खानीवेशीमा बसाई सर्ने तयारीमा रहेको अर्का स्थानीय चन्द्रमान गुरुङले बताए ।




