
बामपन्थी नेता श्रीनाथ अधिकारीको श्रद्धाञ्जली सभामा नेताहरुले भने : तीन ‘प’ ले पार्टी बिगार्यो
अनुपमा खनाल :
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पोष्ट, पावर र पैसाको पछि लाग्ने प्रवृत्ति बढेको बताएका छन् । भ्रष्टिकरण बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै उनले सुधारको खाँचो औंल्याए ।
शहिद सुरेश वाग्ले वासु स्मृति प्रतिष्ठानको आयोजनामा जिल्लामा भएको पुराना वामपन्थी नेता श्रीनाथ अधिकारीको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले इमान्दारिता र निष्ठाको राजनीति अधिकारीसँग सिक्नुपर्ने बताए । ‘क्रान्तिकारिता, निष्ठा, इमान्दारिता, सरलता र स्वच्छताको अनुसरण गरेर हामीले उहाँलाई सच्चा श्रद्धाञ्जली दिनुपर्छ’ नेता श्रेष्ठले भने । पार्टीभित्र बैचारिक र साँस्कृतिक बहस जरुरी रहेको उनको भनाई छ । ‘कम्युनिष्ट पार्टीभित्र दुईवटा विकृति हावी हुँदै गए’ उनले भने ‘पद्धतिका हिसावले जनवादी केन्द्रियताको अभ्यास हुँदैन, चरम ब्यक्तिवाद छ, स्वच्छताको हिसावले स्वच्छता कमजोर हुँदै गएको छ । ’
कम्युनिष्ट पार्टीहरु स्वतन्त्रता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो वा पुँजीवादी संसदीय बाटोबाट अघि बढ्ने भन्नेमा स्पष्ट हुनुपर्ने भन्दै उनले कम्युनिष्ट पार्टीभित्र बैचारिक र साँस्कृतिक रुपान्तरण जरुरी औल्याए । ‘हाम्रो पार्टी र हाम्रो आन्दोलनलाई ठूलो दाई काँग्रेस बनाउन खोजेको हो कि, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन खोजेको हो स्पष्ट हुनुपर्छ’ उनले भने, ‘जनताको आशा भरोसामा ध्यान दिऔं । हाम्रो सम्पूर्ण नीति र आचरणले हामीलाई दाई काँग्रेस बनाउनु हुँदैन ।’ उनले श्रीनाथ अधिकारीले नै आफुलाई कम्पुनिष्ट पार्टीको फारम भराएको स्मरण गरे ।
कार्यक्रमका बक्ताहरुले श्रीनाथ अधिकारीले वामपन्थी आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दौ उनको निष्ठा, त्याग र आदर्शलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए । नेपालका सबै कम्युनिष्ट एक भएर अघि बढेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उनीहरुको भनाई थियो ।
शहिद सुरेश वाग्ले वासु स्मृति प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमका नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, नेकपा केन्द्रिय सदस्य लेखनाथ न्यौपाने, नेकपाका जिल्ला सचीव प्रेम गुरुङ, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य नारायण अधिकारी, कम्युनिष्ट नेता भक्ति लामिछाने, स्वर्गीय श्रीनाथ अधिकारीकी बहिनी शान्ता अधिकारी, शिक्षक टीकाराम श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी) का पोलिटब्युरो सदस्य अधिकारी बिसं २०१२ साल साउन ९ गते गोरखाको हंसपुरमा जन्मिएका थिए । उनको फोक्सोको क्यान्सरका कारण गत असार २२ गते निधन भएको थियो ।




