
गोरखाका बुटार, सोती र अजुवा खोला मोटरेबल पुल ‘क्रोनिक’
गोरखामा तीनवटा मोटरेबल पुल निर्माण कार्य थालेर अलपत्र परेका छन् । पप्पु कन्स्टूक्शनले हात हालेको बुटार पुल, रायमाझी, इशान जेभीले थालेको सोतीखोला पुल र कन्काइ गोरखा जेभीको जिम्मा रहेको अजुवाखोला पुल बर्षौँदेखि अलपत्र परेका हुन् ।
आठबर्षअघि निर्माण निर्माण सुरु गरिएका तीन वटै पुल निर्माण कम्पनीले अलपत्र पारेको हो । धेरै पहल गर्दा पनि पुल निर्माणको काम अघि बढ्न नसकेपछि ११ किलो, भालुस्वाँरा, बासपाक सडक योजना कार्यालयका प्रमुख रविन्द्रलाल दासले ‘क्रोनिक’को संज्ञा दिएका छन् । ‘ती तीनवटै पुलको समस्या ‘क्रोनिक’ बनेको छ’, उनले भने, ‘म्याद थप्ने, पत्राचार गर्ने, ताकेता गर्ने, फकाउने, कराउने सबै उपायहरु अपनाएका छौं तर ठेकेदारले लापार्बाही गर्छन् ।’
पप्पुको पुल पाच बर्षमा १२ प्रतिशत मात्रै प्रगति
पप्पु कन्स्टूक्शनले पाँचबर्षअघि ठेक्का सम्झौता गरेको बुटार पुलको काम जम्मा १२ प्रतिशत मात्र प्रगति भएको छ । २०७१ असार २९ गते ठेक्का सम्झौता भएको सो पुलको दुईतर्फ जीप पनि तयार नभएको सडक योजना कार्यालयले जानकारी दिएको छ ।
‘बिगत बर्षमा जति काम भयो, भयो, यो बर्ष केही पनि काम हुन सकेन’, कार्यालय प्रमुख दासले भने, ‘त्रिशुली पारि जीपको १८ मिटर जग खन्ने क्रममा १० मिटर खनेपछि धेरै ठूलो र कडा चट्टान भेटियो । त्यसलाई फुटाउने मेसिन त्यहाँ पु¥याउन नसकेर काम हुन नसकेको हो ।’ सो चट्टान फुटाउन सरकारले पप्पु कन्स्टूक्शनलाई बेलिब्रिज दिने निर्णय गरेको थियो । बेलिब्रिज उपलब्ध गराउने मापदण्ड मिचेर नीजि कम्पनीलाई दिने निर्णय गरे पनि काम भने हुन नसकेको हो ।
पप्पुले २०७४ मङ्सीर ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्न १७ करोड ४६ लाख ३३ हजार दुईसय ८६ रुपियाँमा सम्झौता गरेका थिए । ठेकेदार हरिनारायण रौनियारले पेश्कीस्वरुप एक करोड ४९ लाख रुपियाँ भुक्तानी लगिसकेका कार्यालयले जनाएको छ ।
अजुवा र सोती खोला पुलको प्रगति करिब ४० प्रतिशत
तिब्बत सीमाना जोड्ने बेनिघाट, आरुघाट, लार्के सडकको सोती खोला र अजुवा खोला पुलको निर्माण कार्य हालसम्म ४० प्रतिशत मात्र भएको छ । आर्थिकबर्ष २०६८÷०६९ मा सम्झौता भएको २५ मिटर लामो पुलको हालसम्म जीप पनि बनेको छैन । जरिबाना लगाएर काम गर्ने गरी म्याद थपको तयारी गरिरहेको कार्यालयले जनाएको छ ।
रायमाझी, इशानजेभी कम्पनी करिब तीन करोड रुपियाँमा सो सडकको ठेक्का लिएको हो ।
त्यस्तै सोही सडकको अजुवाखोला पुल पनि अहिलेसम्म ४० प्रतिशत मात्र प्रगति भएको छ । कन्काइ गोरखाजेभी आर्थिक बर्ष २०७३÷०७४मा सम्झौता गरेको सो असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि नभएको कार्यालय प्रमुख दासले जानकारी दिए ।




