
गोरखामा अहिलेसम्म ७६ प्रतिशत नीजि घर पुनर्निर्माण सम्पन्न
अनुपमा खनाल :
गोरखामा भूकम्पले भत्किएका करीव ७६ प्रतिशत घर निर्माण भएको छ । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई) गोरखाका अनुसार भूकम्पले भत्किएका ५३ हजार ८७ घर निर्माण भैसकेका छन् ।
कार्यालयले गोरखा सदरमुकाममा मंगलबार गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा इकाई प्रमुख रामशरण आचार्यले ति घरधुरीले निर्माण पूरा गरि सरकारले दिने अन्तिम किस्ता लिइसकेको जानकारी दिए । हालसम्म लाभग्राही सूचीमा परेकामध्ये ६५ हजार आठ सय नौ घर पुननिर्माण गर्नुपर्ने र पाचँ हजार तीन शय ५३ घर प्रवलीकरण गर्नुपर्ने देखिएको उनको भनाई छ । पुननिर्माणतर्फ ६३ हजार पाचँ शय लाभग्राहीले अनुदान सम्झौता गरि पहिलो किस्ता र ५९ हजार ३९६ घरले दोस्रो किस्ताको अनुदान रकम लिएका छन् ।
प्रवलिकरण तर्फ १८ सय १७ घरले सम्झौता गरी पहिलो किस्ता, ५२ जनाले दोस्रो किस्ता र ३३ जनाले तेस्रो किस्ता लिएका छन् । पुनर्निमाण र प्रवलिकरण गरि हालसम्म पहिचान भएका लाभग्राहीको संख्या ७१ हजार एक शय ६२ पुगेको इकाईले जनाएको छ । गुनासो सम्बोधनको क्रम जारी रहेकाले लाभग्राहीको संख्या अझै बढ्न सक्ने आचार्यले बताए । ‘पुनः जाचँ सर्वेक्षणका लागि १२ हजार दुई सय ३४ घरको निवेदन परेको थियो’ उनले भने ‘११ हजार नौ सय ५३ घरको सर्वेक्षण भएको छ । ६५ घर प्राविधिक पुग्नु अघि नै बनेको पाईयो । पुन जाचँको नतिजा आउन बाँकी नै छ ।’

उनका अनुसार जोखिमयुक्त ठाउँमा बसेका पाचँ सय २६ घरधुरीलाई स्थानान्तरण गर्नुपर्नेमा हालसम्म तिन सय ४६ घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । कार्यक्रममा जोखिमयुक्त वस्तीका बासिन्दाको स्थानान्तरण, भूकम्पीय आपत कालीन सहायता आयोजना अन्तर्गत भएका पूर्वाधार निर्माण लगायतका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रमका प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले अनुदान वितरणमा विभेद भएका कारण पनि पुनर्निर्माण प्रभावित भएको बताए । ‘सामागाउँ छेकम्पार र सदरमुकामलाई एउटै लाइनमा राखेर अनुदान गरेर हुँदैन’ उनले भने ‘माथिल्लो भेगमा निर्माण सामाग्री ढुवानीमै धेरै खर्च लाग्छ । उनीहरुले कसरी अनुदान र राहतको महसुस गर्नु ।’
कार्यक्रममा प्रदेशसभाका सांसद हरिशरण आचार्यले गुनासो सम्बोधनलाई छिटो टुंग्याउनका लागि वडा तहका जनप्रतिनिधिलाई जिम्मेवार बनाउनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । उनिहरुले भूकम्पपिडीतका समस्या सल्टनुका साटो झन झन बढ्दै गएकोमा दुखेसो गरे ।




