
गोरखा नगरपालिकाद्वारा यो बर्षको बजेट बाँडफाँट
अनुपमा खनाल
गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७५÷७६ को बजेट बाँडफाँट गरेको छ । मंगलबार भएको पाँचौं नगरसभामा उप–मेयर बिना कुमारी श्रेष्ठले आर्थिक बर्ष २०७५÷७६ को लागि ९६ करोड ८० लाख, दुई हजार चार सय ४० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
पर्यटन क्षेत्रको एकीकृत विकास, कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण, भौतिक पूर्वाधार संरचनाको विकास तथा निर्माण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति लगायतका क्षेत्रलाई प्राथमिकता दिएर बजेट गरेको उनले बताईन् । जसअनुसार नगरपालिकाले प्रत्येक वडामा वडास्तरीय आर्थिक, सामाजिक र पूर्वाधार लगायतका क्षेत्रहरुको विकासका लागि एक करोडका दरले १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरमा पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय पूर्वाधार विकासका लागि चार करोड ८० लाख विनियोजन भएको छ । मझुवामा निर्माणधिन ऐतिहासिक गोरखा गेट निर्माण निरन्तरताको लागि एक करोड रुपैयाँ छुट्टाईएको छ । सबै टोल बस्तीमा सहज ढंगले यातायात सुविधा बिस्तार गर्न सडक निर्माण तथा स्तरोन्नतिका लागि चार करोड रुपैयाँ बिनि योजन गरिएको उपमेयर श्रेष्ठले जानकारी दिईन् । एक घर एक धारा खानेपानीको योजना कार्यान्वयन गर्नका लागि नगरपालिकाले एक करोड २८ लाख रुपैयाँ छुट्टाएको छ ।
सामुदायिक भवन, वडा कार्यालय भवन, अधुरो भवन निर्माण सम्पन्न गर्नका लागि एक करोड ११ लाख रुपैयाँ विनियोजन भएको छ । नगरपालिका क्षेत्र भित्रका विभिन्न धार्मिक सम्पदा गुम्बा, चर्च, मस्जिद तथा मदरशा निर्माण तथा संरक्षणका लागि ४५ लाख रुपैयाँ बजेटको ब्यबस्था गरिएको छ ।
यस्तै, व्यावसायिक तवरले पशु पालन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागि अनुदान दिन ४० लाख २० हजार र कृषि पेशालाई सहजीकरण गर्न, कृषिमा आधुनिकी करण तथा यान्त्रिकीकरण गर्न तथा प्रांगारिक मलमा अनुदान तथा रासायनिक मल ढुवानीमा अनुदानका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गोरखा नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद तर्फ एक करोड ६५ रुपैयाँ, विपन्न, अशक्त, जेष्ठ नागरिक नगर प्रमुख बिमा कार्यक्रमका लागि २५ लाख रुपैयाँ, पोषिलो झोला कार्यक्रम सञ्चालनका लागि २६ लाख रुपैयाँ छुट्टाएको छ । वन, वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापन मा ७५ लाख विनियोजन गरेको गोरखा नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा बसेको बैठकले आर्थिक बर्ष २०७६÷७७ को बजेट पारित पनि गरेको छ ।




