
भर्खरै कालोपत्रे गरिएका गोरखा सडकहरु गुणस्तरहीन, उपभोक्ता आन्दोलित
अनुपमा खनाल
हालै कालोपत्रे गरिएको लुइँटेल भञ्ज्याङ भच्चेक सडकको पहिलो खण्डको बिभिन्न ठाउँमा सडक भत्किएको छ । पानी पर्न थालेपछि सडक भत्किन र तारजालीको पर्खाल पल्टिन थालेको स्थानीय बासीले गुनासो गरेका छन् ।
केहीदिनदेखिको बर्षाले सिरानचोक गाउँपालिका ४ को चिउरीबोट भन्ने ठाउँमा कालोपत्रे गरिएको सडक भत्किएको स्थानीय रमित ढकालले जानकारी दिए । ‘केहीदिनअघिदेखि चिरिएको थियो, हिजो भास्सियो’, उनले भने, ‘करिब सात मिटर जति भास्सिएको छ ।’ उनका अनुसार सिरानचोक गाउँपालिका ३ हर्मीभञ्ज्याङनेर राखिएको तारजालीको पर्खाल पनि पल्टिएको छ । ‘छ वटा ग्याभिन भरेको थियो । सडकबाट बगेको बर्खे भेलाले चारवटा ग्याभिन पल्टाइदिएको छ । एउटा त बगाएर तल खोलासम्म पु¥याएको छ ।’ ठेकेदारले कच्ची संरचना बनाएकाले सामान्य बर्षामा पनि पहिरिने, पल्टाउने भएको उनले बताए । ‘जग बलियो गरेर बनाएको भए यस्तो हुने थिएन । चाँडो काम सक्ने उद्देश्यले हतार ग¥यो । कच्ची बन्यो’, उनले भने ।
सडक भत्किएको बारे कार्यालयलाई जानकारी भएको राष्टिूय पुनर्निर्माण प्राधिकरणअन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ(जिमाली)का प्रमुख रामशरण आचार्यले बताए । सो सडक निर्माण कम्पनीलाई भत्किएको खण्ड मर्मतका लागि आग्रह गरिसकिएको उनले बताए ।
भूकम्पीय आपतकालीन सहायता परियोजनाले सो सडक कालोपत्रे गरेको हो । एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेल भञ्ज्याङदेखि तार्केडाँडा सम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्टूक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँ सम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले एक महिनाअघि निर्माण सम्पन्न गरेका थिए ।

गोरखाको घ्याम्पेशाल बाहाकोट पाल्खु स्वाँरा सौरपानी बारपाक सडक निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।
एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय मार्फत भूकम्प आपतकालीन सहायता परियोजना अन्तर्गत निर्माण भएको सडक गुणस्तरहिन भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । वारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी, ३ को स्वाँरा र ६ को ताकुकोटका बासिन्दाले शुक्रबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरेर सडक निर्माणमा भएको लापरबाही विरुद्ध आन्दोलित भएको बताए ।
उनीहरुले राज कुमार गुरुङको संयोजकत्वमा नौ सदस्यीय संघर्ष समिति पनि बनाएका छन् । ८.२ किलोमिटर सडक काला ेपत्रेको जिम्मा पाएको तामाङ कुमार जेभीले सम्झौता अनुसार काम नगरेको संघर्ष समितिका संयोजक गुरुङले बताए । ‘पिच गरेको ठाउँमा खाल्डाखुल्डी भैसक्यो, ग्याबिन वाल पहिरोले लगेको छ, नालीहरु भत्कीएका छन्’ उनले भने ‘पिच गरेको बाटो एक महिनामै भत्किएपछि के काम ?’ काममा लापरबाही भएको सम्बन्धमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित कार्यालयका प्राविधिक र ठेकेदार कम्पनीका ब्यक्तिलाई जानकारी गराउँदा पनि काममा सुधार नभएको उनिहरुले गुनासो गरेका छन् । ‘देखाउने काम मात्रै भयो’ संयोजक गुरुङले भने ‘आबश्यक सामाग्रीको मात्रा मिलेको छैन पिच गर्दा ।
कार्यालयबाट कामको अनुगमन पनि राम्रोसँग भएन । ’१८ करोड १० लाख रुपैयाँ लागत रहेको सो सडक गतपुषमा नै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । समयमा काम सक्न र गुणस्तरीय काम गर्नका लागि कार्यालयले निरन्तर दबाब दिएपनि काम पूरा हुन नसकेको जिमालीका प्रमुख रामशरण आचार्यले जानकारी दिए । दुई पटक म्याद थप गरेको कार्यालयले अझै म्याद थप गर्ने तयारी गरेको छ ।




