
आरुघाट गाउँपालिकाद्वारा किसानलाई हातेट्रयाक्टर वितरण
गोरखाको आरुघाट गाउँपालिकाले किसानहरुलाई हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिका भित्रका २४ कृषक समुहलाई ७० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले जानकारी दिए ।
गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष पुर्ण दाहाल ,वडा नं ९ का अध्यक्ष डिल बहादुर रोका र प्रमुख प्रशासकिय अधिकृत खनालले किसानलाई ट्रयाक्टर हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दाहालले कृषिमा आधुनिनिकरण र यान्त्रीकरणका लागि किसानलाई हाते ट्रयाक्टर वितरण गरेको बताए । ‘अब कृषिमा आधुनिकिकरण जरुरी छ’ उनले भने ‘किसानलाई ब्यबसायीक खेतीमा आकर्षित गर्न र बाँझो रहेका जमिनबाट उत्पादन लिन टूयाक्टरले सघाउने विश्वास लिएको छु ।’ कृषक समुहमा आबद्ध सबैले मिलेर ट्रयाक्टर प्रयोग गर्न उनले आग्रह गरे ।
किसानको मागका आधारमा गत जेठ ५ गतेको गाउँसभाको बैठकले टयाकटर वितरण गर्ने निर्णय गरेको थियो । वडा नं १ र ३ बाहेक सबै वडामा ट्रयाक्टर वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत खनालले बताए ।
६ र ७ हर्स पावर क्षमता भएको हातेट्रयाक्टर वितरण गरिएको हो । ६१ हजार रुपैयाँ पर्ने सो ट्रयाक्टरमा किसानको १८ हजार रुपैयाँ लगानी परेको छ । हातेट्रयाक्टर पाएसँगै किसानहरु खुसी भएका छन् ।
अब जोत्नकै लागी गोरु पाल्न नपर्ने तथा थोरै समयमा धेरै काम गर्न सकिने उनिहरुको विश्वास छ ।




