
गोरखाको चुमनुब्रीमा एक वडा एक पक्की हेलिप्याड बन्ने
सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिकामा हेलिकोप्टर सेवा सहज बनाउन हेलिप्याड निर्माण गरिने भएको छ ।
सात वटा वडा रहेको चुमनुब्री गाउँपालिकाको हरेक वडामा पक्की हेलिप्याड निर्माण गरिने गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले जानकारी दिए ।‘अहिले पनि सबै वडामा हेलिकोप्टर ल्याण्ड गर्ने ठाउँ त छ तर पक्की संरचना छैन’, अध्यक्ष गुरुङले भने, ‘अब सबै वडाको कम्तीमा एक ठाउँमा पक्की हेलिप्याड बनाउने निर्णय गरेका छौं ।’ गाउँपालिकाको बजेट सभाबाट सो सम्बन्धी नीति तथा कार्यक्रम पारित गरिएको गुरुङले बताए ।
हेलिप्याडको लागत भने उल्लेख गरिएको छैन । ठाउँअनुसार लागत घटिबढी हुने भएकाले लागत बारे अहिले भन्न नसकिने अध्यक्ष गुरुङले बताए ।
भूकम्पपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले तत्कालीन गाविसलाई हेलिप्याड बनाउन आग्रह गरेको थियो । ती हेलिप्याडहरु कच्ची भएकाले ढलान गरेर पक्की संरचना बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । अहिलेसम्म सामागाउँ र बिहीमा मात्र पक्की हेलिप्याड रहेको अध्यक्ष गुरुङले बताए । ‘वडा नं. १ र ५ मा पहिल्यै पक्की हेलिप्याड छ’, उनले भने, ‘छरिएर रहेका वडा नं. ३, ४ र ६ मा एकभन्दा धेरै हेलिप्याड बनाउनु पर्ने देखिएको छ ।’




