| आइतवार, कार्तिक २९, २०८३

गोरखामा पहिलो पटक सूचनाको हकसम्बन्धी ऐनको प्रयोग, दिएको सूचना पनि अपूरो

 

कार्यालयको सेवा प्रबाह बारे पत्रिकामा प्रकाशन गर्ने प्रयोजनका लागि जानकारी लिन गोरखामा पहिलो पटक सूचनाको हकको प्रयोग गरिएको छ । दरौंदी दैनिकका पत्रकार शिव उप्रेतीले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ४ प्रयोग गरेर भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रबाट अनुदान प्रदान गरिएका समूह, फर्म तथा सहकारीको विवरण माग गरेका हुन् ।

सूचना पार्टीमा टाँस गरेर सार्बजनिक गराउनु पर्ने सूचना समाचार प्रयोजनका लागि माग गर्दा कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले अस्वीकार गरेपछि सूचनाको हकसम्बन्धी ऐनको प्रयोग गरेर सूचना माग गरिएको उप्रेतीले जानकारी दिए ।

सूचना माग गरिएको केही समयपछि कार्यालय प्रमुख ठाकुरले यसअघि नै तयार गरेर राखिएको विवरणको फोटोकपी उपलब्ध गराएका थिए । आफूले काम गर्ने सँस्थाको परिचय पत्र देखाएर सूचना माग गर्दा नदिएपछि सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गरिएको उप्रेतीले बताए ।

कार्यालय प्रमुख ठाकुरले माग गरिएको पूरा विवरण भने दिएका छैनन् । अनुदान लगेका फर्म, समूह तथा सहकारीले गरेको कामको प्रगति विवरण माग गरेपनि कार्यालय प्रमुखले सो बारे सूचना नदिएको उप्रेतीले बताए ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालयमा पनि सूचनाको हकको प्रयोग गरेर तालिमको भत्ता वितरण बारे जानकारी माग गरिएको थियो । तर समाचार प्रयोजनका लागि भने यो पहिलो पटक सूचनाको हकको प्रयोग भएको हो ।

सो कार्यालयमा सूचना अधिकारीको समेत व्यबस्था गरिएको छैन ।

कार्यालयको सबै गतिबिधि पारदर्शी हुने भएकाले सूचना लुकाउने प्रयास गर्न नहुने पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर जंग थापाले बताए । ‘कार्यालयले गरेको सेवा प्रबाह बारे तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्नेमा सहज तरिकाले सूचना माग गर्दा पनि आनाकानी गर्ने प्रवृत्ति गलत हो’, थापाले भने, ‘पत्रकारले समाचार प्रयोजनका लागि सूचना माग गर्दा त यत्तिको बाधा अड्चन हुन्छ भने त्यो कार्यालयमा सर्वसाधारणको पहुँच कस्तो रहेछ भन्ने यही घटनाले छर्लङ्ग हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्