| आइतवार, कार्तिक २९, २०८३

चुमनुब्री गाउँपालिकाभित्र लगानी गर्नेलाई गाउँपालिकाले प्रोत्साहन गर्ने

अनुपमा खनाल

चुमनुब्री गाउँपालिकाले बाहिर रहेका स्थानीयबासीलाई गाउँ पालिकामा उद्यम व्यवसाय संचालनमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ । नयाँ स्थापना हुने रोजगारमूलक उद्योगमा विउँ पूजी सहुलियत उपलव्ध गराउन पहल गर्ने लगायतका विभिन्न योजनाका साथ गाउँपालिकाले गाउँमा लगानी बढाउने नीति तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा स्थानीय उत्पादन प्रशोधन गर्ने साना तथा मझौला उद्योग संचालनका लागि वातावरण बनाउने, स्थानीय जडिबुटी, जैविक कृषि उपज, फलपूmल तथा तरकारी प्रशोधन सम्बन्धी उद्योगहरु को स्थापना र विकासमा प्रोत्साहन गर्ने उल्लेख छ ।
आगामी आर्थिक वर्षमा सडक गुरुयोजना, पर्यटन गुरुयोजना, राजश्व परिचालन गुरुयोजना, बैकल्पिक पर्यटन पदमार्ग निर्माण गुरुयोजना तयार गरि चुमनुब्रीको विकास गर्ने लक्ष्य रहेको गाउँ पालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए । ‘दिगो विकास, अनुपम संस्कृति, उन्नत पर्यटन, सम्बृद्ध चुमनुब्री’ भन्ने दिर्घकालीन सोचका साथ प्रथम पञ्चवर्षीय गाउँपालिका योजना र खानेपानी तथा सरसफाई गुरुयोजना निर्माणको अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय आवास, पिसपार्क, मौलिक संस्कृति झल्किने गुरुङ, भोट,े लामा संग्रहालय निर्माणका लागि पनि पहल गर्ने भएको छ । एक वडा एक व्यवस्थित हेलि प्याडको नीति लिएको चुमुनुब्रीले एक गाँउ एक उत्पादनमा पनि जोड दिएको छ । प्रत्येक वडामा कृषि उपज सकंलन तथा हाट वजारको व्यवस्था गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । जिल्लाको दुर्गम र बिकट क्षेत्र ओगटेको चुमनुब्रीले नियमित औषधि व्यवस्था तथा ढुवानीको प्रवन्ध मिलाउने पनि नीति लिएको छ । यस्तै, महिला, अपांग, दलित र छात्राहरूका लागि उच्च शिक्षाको लागि छात्रवृत्ति दिने र अपांगता भएका व्यक्तिका लागि श्रोत कक्षा संचालन गर्न पहल गर्ने गाउँपालिकाले जनाएको छ ।

 

स्वास्थ्य क्षेत्रमा रहेका कुरीति, अन्धविश्वास हटाउन र परिवार नियोजनको साधनको सहज स्वीकार्य गराउन बिभिन्न कार्यक्रम संचालन गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँ पालिकाले स्त्री तथा प्रसुति सम्बन्धी समस्या भएका महिलाहरु को उपचारमा विशेष समुदायका महिला तथा अपाङ्गता भएका महिलालाई निशुल्क जांच तथा सेवा उपलब्ध गराउने भएको छ । गाउँपालिकाको पाचौं गाउँसभामा उपाध्यक्ष कुमारी गुरुङले आगामी बर्षका लागि २६ करोड ५२ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिईन् । पालिकाले चालुतर्फ १५ करोड छ लाख ११ हजार र पुजिँगत तर्फ ११ करोड ४६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्