
गोरखाबाट तिब्बत जोड्ने सडकको काम सुरु हुन सकेन
प्रदेश सरकारले गोरखा र तिब्बतको सीमानामा रहेको रुई भञ्ज्याङबाट निर्माण गर्न लागेको सडकको काम यस बर्ष हुन सकेन । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलगायत बिभिन्न प्रक्रिया पूरा गर्न बाँकी रहेको कारण देखाउँदै काम सुरु गर्न नसकेको हो ।
काम नभएपछि चालु आर्थिक बर्षका लागि बिनियोजित दुई करोड रुपैयाँ फिर्ता भएको छ ।
‘सर्भे भएको भन्नेचाहिँ सुनेको हो तर यसबर्ष हाम्रो अफिससम्म फाइल नै आएन’, प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयका प्रमुख राम कार्कीले भने, ‘मन्त्रालय तहबाट प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनका लागि हामीकहाँ आउने हो तर माथिल्लो चरणको प्रक्रिया पूरा नभएकाले फाइल नै हामीसम्म आइपुगेन ।’
रुई भञ्ज्याङबाट सडक निर्माणको काम गर्ने गरी गत मंसीरमा सर्भे गरिएको थियो । ‘दुई खण्डको गरी सीमाबाट ३५ किलोमिटर सडक सर्भे गरिएको थियो’, उनले भने ‘सो सडक मनास्लु संरक्षण क्षेत्रभित्र र तिब्बतको सीमानामा पर्छ । संवेदनशील ठाउँमा भएकाले दुई देशीय कुराहरु हुनसक्छन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन लगायतका काम बाँकी रहेको भन्ने बुझियो ।’
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) न्यूनत्तम आवश्यक प्रक्रिया भएको एमक्यापले जनाएको छ । ‘संरक्षित क्षेत्र भएकाले इआइए त अनिवार्य शर्त हो’, एमक्यापका प्रमुख नरेन्द्र लामा भन्छन्, ‘यसलाई एमक्यापले रोकेको भन्न मिल्दैन । जसरी सडक निर्माण गर्नुअघि सर्भे गर्नु अनिबार्य छ, त्यसरी नै इआईए पनि गर्नु जरुरी छ ।’ इआईए लगायतका प्रक्रिया पूरा गर्नमा समय लागेकाले यो आर्थिक बर्ष काम सुरु गर्न नसकेको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । ‘न्यूनत्तम आवश्यक प्रक्रिया त पूरा गर्नुप¥यो’, मन्त्री बस्नेतले भने, ‘काम सुरु गरेपछि मुद्दामामिलातिर लाग्नु भन्दा बरु केही समय ढिला भए पनि प्रक्रियातिर लागियो ।’
आउँदो साउनभित्र प्रक्रिया पूरा गरी भदौबाट निर्माणको काम थाल्ने उनले बताए । प्रक्रिया धेरै झण्झटिलो भएमा उपभोक्ता समिति मार्फत काम गर्ने उनले बताए । सो सडकका लागि चालु आर्थिक बर्ष चार करोड रुपैंया र आउँदो बर्ष दुई करोड रुपैया बिनियोजन गरिएको गाउँ पालिकाले जनाएको छ ।




