| आइतवार, कार्तिक २९, २०८३

बैंक भएपनि काम भएन, चुमनुब्री र धार्चेका बासिन्दा योजना सम्झौता र फर्छौट गर्न सदरमुकाममा

 

गाउँगाउँमा सिँहदरबार भन्ने अबधारणा अनुसार सरकारले हरेक गाउँपालिकामा कम्तिमा एउटा वैंकको शाखा स्थापना गर्ने र आर्थिक कारोबारको सुविधा दिने नीति लियो । तर गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाले गाउँकै बैंकबाट आर्थिक कारोबार गर्न पाएका छैनन् । आर्थिक बर्ष सकिनै लाग्दा अहिले दुई गाउँपालिकाका उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीहरु योजना तथा कार्यक्रमको हिसाब फरफारकका लागि सदरमुकाममा झरेका छन् । चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट सदरमुकाम झर्न तीन दिन लाग्छ भने धार्चेबाट सदरमुकाम पुग्न एकदिन हिड्नु पर्ने बाध्यता छ ।

फिलिममा कुमारी बैंकले शाखा सञ्चालन गरेको छ तर गाउँपालिकालाई सेवा नदिएको गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले जानकारी दिए । ‘गाउँपालिकालाई सेवा दिन पर्याप्त रकम छैन भन्छ’, गुरुङले भने, ‘त्यसैले सबै आर्थिक काम गर्न तीनदिन पैदल हिडेर सदरमुकाम झर्नुपर्ने बाध्यता छ ।’ वैंकले ठूलो परिमाणमा पैसा ओसार्न नसक्ने बताउँदै आएको उनले जानकारी दिए ।

चालु आर्थिकबर्ष धार्चेले ३३ करोड रुपैंयाको र चुमनुब्री गाउँपालिकाले २३ करोड रुपैंयाको योजना तथा कार्यक्रम सञ्चालन गरेको जनाएका छन् । गाउँपालिकामै आर्थिक कारोबार गर्न नपाएपछि चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँबाट सातदिन र वडा नं. ६ र ७ चुम्चेत, छेकम्पारबाट पाँचदिन पैदल हिडेर उपभोक्ता समितिका पदाधिकारी कर्मचारी सदरमुकाम आइपुगेका स्थानीय सेराप गुरुङले जानकारी दिए । ‘बर्खाको बाटो बुढीगण्डकीको किनारकिनारै भेल, बाढी, पहिरो छल्दै आउन साह्रै समस्या छ’, उनले भने, ‘आउन जान १५ दिन लाग्छ । बाटो खर्च, सदरमुकाममा चारपाँच दिन बस्नुपर्दा होटल खर्च उत्तिकै हुन्छ । कहिलेकहीँ काम गरेको डोरहाजिरी लगायतका कागजात मिल्दैन साह्रै दुख पाइन्छ ।’

योजना सम्झौता गर्न र फस्र्यौट गर्न सदरमुकाम आउनु पर्दाको सास्तीका कारण उपभोक्ता समितिमा बसेर काम गर्न कोही नमान्ने गरेको उनले गुनासो गरे ।

धार्चे गाउँपालिकामा पनि गत चैत महिनामा सिभिल वैंकको शाखा स्थापना भएको छ । तर गाउँपालिकालाई सेवा नदिँदा सात वटै वडाका उपभोक्ता समितिका पदाधिकारी योजना फस्र्यौट गरी भुक्तानी लिन सदरमुकाममा आउन बाध्य छन् ।

‘वैंकले सेवा नदिँदा सातै वटा वडाका समितिका पदाधिकारी, कर्मचारीहरु सदरमुकाममा आउन बाध्य छन्’, गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ भन्छन्, ‘खेतीपाती गर्ने सिजनमा गाउँले सदरमुकाममा थुप्रिनु परेको छ ।’

प्रतिक्रिया दिनुहोस्