
गोरखामा धान दिवस : बिभिन्न कार्यक्रम गरी मनाइयो , टारी खेतलाई आकासे पानीको भर
अनुपमा खनाल :
गोरखामा विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाईएको छ । धान खेतिमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्युनिकरण भन्ने नाराका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाईएको हो ।
राष्ट्रिय धान दिवसको अबसरमा शहिद लखन गाउँपालिकाको सत्तरी फाँट ज्यादुल खोलामा रोपाई महोत्सव भएको छ । कृषि ज्ञान केन्द्र गोरखा, गाउँपालिकाको कृषि शाखा र ज्यादुलखोला कृषि तथा सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा हिलेदौड पनि भएको छ । दौडमा महिलातर्फ गोमा श्रेष्ठ र पुरुषतर्फ अमृत परियार प्रथम भएका छन् । उनीहरु लाई प्रतिब्यक्ति १५ सय रुपैयाँ पुरस्कार दिईएको छ ।
रोपाईका साथै विभिन्न प्रतियोगिता पनि भएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद अम्गाईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापा, गाउँपालिका को वडा नं ८ का अध्यक्ष काशीनाथ अम्गाई, प्रमुख प्रशासकिय अधिकृत जिवन आले, नेकपाका मनोज जोशी, नेपाली कांग्रेसका खुनप्रसाद रेग्मी, कृषक धुब्र खनाल, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
गोरखा नगरपालिका छेबेटारको दरौंदी फाँटमा पनि रोपाई कार्यक्रम भएको छ । कार्यक्रममा सहभागी हरुले असारे भाकामा लोकदोहोरी गाउँदै धान रोप्नुकासाथै हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गरि दहि चिउरा खाएका थिए । यसैगरी, भिमसेन थापा गाउँ पालिकाको निबेल फाँटमा पनि धान दिवसका अबसरमा गाउँ पालिकास्तरीय कार्यक्रम भएको छ । जिल्लामा सिंचाई सुविधा पुगेका विभिन्न फाँटहरुमा प्रायः रोपाई सकिएको कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले जानकारी दिईन् । टाँरी खेतहरुमा भने रोपाई हुन बाँकी छ । आकाशेपानीको भर पर्नुपर्ने भएकाले असारभर रोपाई हुने गरेको किसानले बताएका छन् ।
खेतमा मकै रोपिएको र मकै भित्राउने क्रम सुरु भएकाले टारी खेतहरुमा रोपाई हुन बाँकी छ । सिंचाईको राम्रो सुविधा नपुगेका ठाउँका किसानले केहिदिन अघिबाट पानी पर्न थालेपछि धानको विउ राखेका छन् । गोरखामा विशेष गरी उन्नत जातका सावित्री, मकवानपुर १, खुमल ४, खुमल ९, ओ आर लगायतका धान लगाउन कृषि प्राविधिकहरुले सिफारिस गरेका छन् । स्थानीय जातमा आँपझुत्ते, मसीनो, एक्ले, जर्नेली, अनदी लगायतका धान खेति हुने गरेको छ ।
जिल्लामा धान खेतीका लागी पर्याप्त सिञ्चाईको सुविधा नभएको र आकाशे पानीको भर पर्नुपर्ने अबस्था रहेको छ । सिञ्चाईको सुविधा पु¥याउनका लागि बार्षिक रुपमा साना सिञ्चाई, प्लास्टिक पोखरी निर्माण लगायतका योजना सञ्चालन गरिएको प्रमुख थापाले बताईन् । गोरखामा करिब १२ हजार हेक्टर क्षेत्रफलमा बर्षेधान खेती हुँदै आएको छ । तर पर्याप्त श्रमशक्तिको अभावमा पछिल्लो वर्षहरुमा रोपाई प्रभावित हुँदै आएको छ । श्रमशक्तिको अभावमा केही वर्षयता सिचाई सुविधा पुगेका खेतहरुमा पनि धान रोपाई हुन छाडेको छ ।




