| आइतवार, कार्तिक २९, २०८३

गोरखा नगरपालिकाद्वारा आउँदो आर्थिक बर्षका लागि रु. ९४ करोड बजेट प्रस्तुत, आउँदो बर्ष लगानी सम्मेलन गरिने

 

शिव उप्रेती :

मंगलबार गोरखा नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख राजन राज पन्तको अध्यक्षतामा सम्पन्न सभामा ले उपप्रमुख बिनाकुमारी श्रेष्ठद्वारा प्रस्तुत आर्थिक बर्ष २०७६/०७७ को बिनियोजन विधेयक, आर्थिक विधेयक २०७६ सर्वसम्मतले पास गरेको छ । त्यस्तै नगरसभा सदस्य तिलक बहादुर बानियाँद्वारा प्रस्तुत विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विधेयक पनि पास भएको छ ।

नगरप्रमुख पन्तद्वारा प्रस्तुत आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम तथा उपप्रमुख श्रेष्ठद्वारा प्रस्तुत योजना, कार्यक्रम र बजेट पनि सर्वसम्मत ले पास गरेको छ । आगामि आर्थिकबर्षका लागि उपप्रमुख श्रेष्ठद्वारा ९४ करोड ६८ लाख ८९ हजार ९४० रुपैंयाको बजेट प्रस्तुत भएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा आउँदो बर्ष गोरखा नगरपालिका र बेलायतको ग्रेटर रस्मुर काउन्सिल बीच भगिनी सम्बन्ध स्थापना गर्ने उल्लेख गरेको छ । त्यस्तै एक वडा एक नमूना विद्यालय शिक्षाको अवधारणा विकास गर्ने, शिक्षामा भइरहेको नीजिकरण र व्यापारिकरणलाई न्यूनिकरण गर्ने लक्ष्य लिएको छ ।

शैक्षिक संस्थाको अनियमित शुल्क असुलीलाई नियमन र नियन्त्रण गर्ने, सुत्केरी शिक्षिकाको सट्टा तीन महिनाका लागि सट्टा शिक्षकको व्यवस्था गर्ने कार्यक्रम अघि सारेको छ । त्यस्तै नगरप्रमुख बिपन्न ज्येष्ठ समुदाय बिमा कार्यक्रम लागु गर्ने, वृहत साहित्य सम्मेलन गर्ने, मेयरकपलाई निरन्तरता दिदै गोरखा गोल्डकप आयोजना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गैह्रसरकारी संस्था समन्वय इकाई स्थापना गर्ने, ज्येष्ठ नागरिकलाई तीर्थभ्रमण गराउने, बालमैत्री वडा स्थापना गर्ने, सबै महिलालाई साक्षरता अभियान सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा गोरखा नगरपालिकालाई माछा उत्पादन क्षेत्रको रुपमा विकास गर्ने, मस्र्याङ्दी करिडोरलाई माछा पकेट जोन घोषणा गर्ने, एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गर्ने, प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम पनि घोषणा गरिएको छ । त्यस्तै भीमसेन पार्कमा भीमसेन थापाको पूर्ण कदको सालिक स्थापना गर्ने, गोरखा दरबारलाई केन्द्र बनाएर पर्यटकीय मार्ग निर्माण गर्ने, भ्यूटावर निर्माण गर्ने, गोरखकाली रबर उद्योग पुनसंचालनका लागि प्रदेश र केन्द्र सरकारसंग समन्वय गर्ने र गोरखा नगरपालिकामा लगानी बढाउने उद्देश्यले लगानी सम्मेलन गर्ने नीति तथा कार्यक्रम पनि सार्वजनिक भएको छ ।

जथाभावी भइरहेको ढुंगा, गिटी, बालुवा उत्खनन रोकी व्यवस्थित गर्ने, वडा नं. ९ मा नाइटभिजन हेलिप्याड र अरु सबै वडामा हेलिप्याड निर्माण गर्ने, बिभिन्न ठाउँलाई फ्रि वाइफाइजोन बनाउने पनि नीति कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्