
अधेरीगाउँमा घरैपिच्छे धारा
शहिद लखन गाउँपालिका ७ बुंकोटमा अधेरीखोला खानेपानी तथा सरसफाई आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । सि आर एसको आर्थिक सहयोगमा पद्धति विकास सेवा केन्द्रले गाउँको ३८ घरमा खानेपानीको धारा जडान गरेपछि समुदायलाई आयोजना हस्तान्तरण गरिएको हो । गाउँमा आयोजित कार्यक्रममा वडा अध्यक्ष शरण श्रेष्ठ र पद्धति विकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछानेले संयुक्त रुपमा उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गरे । आयोजना निर्माण सम्पन्न भएपछि अधेंरी गाउँमा हरेक घरमा खानेपानीको सुविधा पुगेको छ । पहिले परम्परागत धारा तथा अधेरी खोलाबाट घन्टौ लगाएर पानी ल्याउनुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् ।
अधेरी खोलाको पानी ८ घनमिटर टयांकीमा सकंलन गरेर गाउँको घरमा बाडिएको उपभोक्ता समितिका सचिव सञ्जय राना मगरले जानकारी दिए । आयोजनाको दिगोपनाका लागि उपभोक्ता समितिले मर्मत सम्भार कोष पनि बनाएको उनको भनाई छ । हाल पानी उपभोग गरेवापत प्रत्येक घरले मासिक ५० रुपैयाँ समितिमा बुझाउँदै आएका छन् । अब खर्च गरेको पानीका आधारमा शुल्क निर्धारण गर्ने निर्णय भएको सचिव रानाले बताए । जसका लागि सबै घरमा पानीको मिटर जडान भैसकेको छ । समितिको निर्णय अनुसार मासिक ५ युनिट पानी खपत गर्नेले ५० रुपैयाँ र त्यसमाथि प्रतियुनिट दश रुपैयाँका दरले शुल्क लिने निर्णय भएको समितिले जनाएको छ ।
उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर राना मगरको अध्यक्षतामा कार्यक्रम भएको हो ।




