
गोरखामा प्रधानमन्त्री रोजगार कार्यक्रम : चौतारादेखि चर्पीसम्म
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आरुघाटमा खटिएका युवाहरुले चौतारा बनाउन थालेका छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार २० वटा चौतारा बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए ।
‘आरुघाट गाउँपालिकामा १० वटा वडाहरु छन् । प्रत्येक वडामा दुई(दुईवटा चौतारा बनाउने निर्णय अनुसार हामीले उनीहरुलाई चौतारा बनाउन लगाएका छौं’, दाहालले भने, ‘दीगो र उपलब्धीमुलक काम होओस् भन्ने उद्देश्यले चौतारा बनाउने निर्णय गरेका हौं । २० वटै चौताराको मंगलबार सिलान्यास भएको छ । बुधबारदेखि धमाधम काम सुरु हुन्छ ।’

आरुघाट गाउँपालिकामा पहिलो चरणमा दुईसय ५२ जना युवाहरु प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनौट भएका थिए । उनीहरुलाई २० वटा समूह बनाएर काम लगाइएको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई दैनिक पाँचसय १८ रुपैंयाका दरले पारिश्रमिक दिने अध्यक्ष दाहालले बताए । सो शीर्षकमा गाउँपालिकामा १९ लाख ६० हजार रुपैंया प्राप्त भएको दाहालले बताए ।
त्यस्तै गण्डकी गाउँपालिकाले प्रधानमन्त्री रोगजार कार्यक्रमको सूचीमा परेकाहरुलाई सडक हेरालु राखेको छ । प्रत्येक वडामा पाँच पाँच जनाका दरले सडकको रेखदेख गर्न परिचालन गरेको गाउँपालिकाका प्रमुख होमबहादुर रानाले जानकारी दिए । ‘हाम्रो गाउँपालिकामा आठ वटा वडा छ । प्रत्येक वडामा पाँचपाँच जनाका दरले सडक हेरालु भनेर काम दिइएको छ’, अध्यक्ष रानाले भने, ‘उनीहरुले सडकको नाला सफा गर्ने, बर्खाका बेला सडकमा खसेको पहिरो फाल्ने काम गर्छन् ।’ सो गाउँपालिकामा रोजगारी पाउनेको सूचीमा एकसय ४३ जना छन् । अन्य युवाहरुलाई सिँडी बनाउने, विद्युतको पोल गाड्नेलगायतको काममा परिचालन गरिने उनले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको सूचीमा परेकाहरुलाई बारपाक सुलीकोट गाउँपालिकाले भने सार्वजनिक सौचालय बनाउन लगाएको छ । सूचीमा परेका एकसय ३० जनालाई सौचालय बनाउन, बिभिन्न १५ ठाउँमा गोरेटो बाटो बनाउन, भूक्षय नियन्त्रणको काम गर्न लगाइएको प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले जानकारी दिए ।

सहिद लखन गाउँपालिकामा सो शीर्षकमा ३१ लाख रुपैंया प्राप्त भएको छ । सो रकमले प्रत्येक वडाहरुमा तीनतीनलाखको कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए । परिचालित युवाहरुले सडकको नाला खन्ने, सिँडी निर्माण गर्ने, घेराबार गर्ने, पर्खाल लगाउने काममा प्रयोग गरिने उनले बताए ।अजीरकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत युवाहरुलाई सिँचाई कुलो निर्माण, बाटो मर्मत, धार्मिक सम्पदा, मठमन्दिरहरुको मर्मतसम्भार काममा खटाइएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञावलीले जानकारी दिए ।
पालुङ्टार नगरपालिकाले सो कार्यक्रम अन्तर्गत कार्यालय घेराबारमा र नालाका कार्यक्रम धेरै खर्च गरेको छ । मंगलबारदेखि वडा नं. ७, ८ र १० को कार्यालय वरिपरि घेराबार लगाउनमा युवाहरु परिचालन गरिएको कार्यक्रम संयोजक विवेक पण्डितले जानकारी दिए । त्यस्तै लिगलिगकोट सरसफाइ, लिगलिगकोटको सिँडी निर्माणमा युवाहरु परिचालन गरिएको छ । सो शीर्षकमा प्राप्त ४० लाख रुपियाँ बराबरको काम गर्न पहिलो चरणमा ३९७ जना युवाहरु १० दिन परिचालित हुनेछन् ।




