
सांसद दवाडीले संसदमा सोधे : खै पालुङ्टारलाई स्मार्टसिटी, उत्तरी गोरखालाई फिल्मसिटी बनाउने शीर्षकमा बजेट ?
गण्डकी प्रदेश सभा सदस्य प्रकासचन्द्र दवाडीले उत्तरी गोरखालाई फिल्मसिटी बनाउने शीर्षकमा बजेट बिनियोजन नभएको भन्दै हालै सार्वजनिक बजेटको आलोचना गरे । गण्डकी प्रदेशको बजेट बारे मंगलबार संसदमा टिप्पणी गर्दै उनले नीति तथा कार्यक्रममा समेटिएको तर बजेटमा छुटाइएको गोरखकाली रबर उद्योग, पालुङ्टार र उत्तरी गोरखाको कार्यक्रम बारे जिज्ञासा राखे ।
‘सरकार पर्यटनको नारा मात्र घोक्छ, तर बजेट छुट्याउँदैन’, उनले भने, ‘तीन पटकसम्मको नीति तथा कार्यक्रममा समेटिएको उत्तरी गोरखा, मनाङ र मुस्ताङलाई फिल्म सिटी बनाउने शीर्षकमा खै त बजेट परेको ? के नीति तथा कार्यक्रम पाना भर्नका लागि मात्रै हो ? के कार्यक्रम अनुसार बजेट छुट्याउनु पर्दैन ?’
पालुङ्टारलाई स्मार्टसिटीमा राख्ने गतबर्षको कार्यक्रम यसबर्ष छुटाइएको भन्दै सांसद दवाडीले आपत्ति जनाए । ‘गोरखाको पालुङ्टारलाई स्मार्टसिटी बनाउने अघिल्लो बर्षको कार्यक्रमलाई यसपटक छुटाइएको हो कि बिर्सिएको हो ?’ पालुंटार लगायत प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माणका लागि दुई करोड रुपैंया बिनियोजन गरिएकोप्रति सांसद दवाडीले कटाक्ष गरे । ‘प्रदेश स्तरको दुईवटा औद्योगिक क्षेत्र निर्माणका लागि दुई करोड रुपैंया बिनियोजन गरिएको छ । यो त धेरै भएन र भन्या ?’, उनले भने, ‘बरु यसलाई अलिकति घटाएर अरु क्षेत्रमा लगानी गरौं, कमसेकम केही शीर्षक त थपिन्छ । दुई करोड रुपैयाले कस्तो औद्योगिक क्षेत्र बन्छ ?’ गोरखकाली रबर उद्योग र भृकुटी कागज उद्योग प्रदेश सरकारले चलाउने घोषणा गरेको तर बजेटमा यस बारे कुनै शव्द नै प्रयोग नभएकोप्रति सांसद दवाडीले आक्रोश पोखे ।
मुख्यमन्त्री वातावरणमैत्री कृषि नमूना गाउँ घोषणा, होमस्टे, रोजगारीका लागि तालिम जस्ता कार्यकर्ता पोस्ने कार्यक्रमका लागि मात्र बजेट बिनियोजन गरिएको तर्क उनले गरे । ‘पोके र ढोके बजेट पस्किएर सरकार संवृद्धिको कुरा गर्छ’, उनले भने, ‘प्राथमिकता एकातिर छ, बजेट अर्कोतिर छ । आफ्नै नीति तथा कार्यक्रम र बजेटलाई एकपटक फर्केर हेर्न म सरकारलाई आग्रह गर्छु ।’




