
शिखर र महटार जोड्ने झोलुङ्गे पूल निर्धारित समयभन्दा एकबर्ष अघि नै निर्माण सम्पन्न
गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका जोड्ने झोलुङ्गेपूल निर्धारित समयभन्दा एकबर्ष अघि नै निर्माण सम्पन्न भएको छ । गोरखा नगरपालिका २ ताप्लेको शिखर र सिरानचोक गाउँपालिका ६ गाँखुको महटार जोड्ने दरौंदी नदि माथिको एक सय ६९ मिटर लामो झोलुङ्गे पूल अन्नपुर्ण निर्माण सेवाले एकबर्ष अघि नै निर्माण सम्पन्न भएको हो ।
स्थानिय पुर्वाधार विकासको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको ९४ लाख ९० हजार रुपैयाँको लागतमा अन्नपुर्णले दश महिनामा पूल तयार पारेको हो । गतबर्ष असार २४ गते भएको सम्झौता अनुसार २०७७ बैशाख २९ गते पूल निर्माण सक्नुपर्नेमा गत बर्ष चैत २९ गते निर्माण सम्पन्न भएको अन्नपुर्ण निर्माण सेवाका सञ्चालक पिटरकुमार श्रेष्ठले जानकारी दिए । पूलनिर्माण भएपछि महटार, शिखर लगायतका गाउँका बासीन्दालाई खेतबारी तथा बजार आउजाउमा सजिलो भएको स्थानियले बताएका छन् । पूल निर्माणका लागि ठेकेदार कम्पनीले निर्माणस्थल आसपास बाट नै नदिजन्य सामाग्री प्रयोग गरेको थियो ।

तर ढुंगा, गिटी र बालुवा प्रयोग गरेर राजस्व नबुझाएको सिरानचोक गाउँ पालिका वडा नं ६ कार्यालयले जनाएको छ । ‘हाम्रोतिरबाट एक सय ६५ टूयाक्टर ढुंगा, बालुवा प्रयोग भएको रहेछ’ वडा अध्यक्ष नारायण दानीले भने ‘गाउँपालिका को नियम अनुसार प्रतिटूयाक्टर एक हजार रुपैयाँ तिर्नुपर्ने हो । पूल बनाउने क्रममा तिर्ने सर्तमा मौखिक सहमति गरीयो । अहिले उहाँले राजस्व तिर्नुभएको छैन । टेलिफोन गरेर राजस्व तिर्न बोलाउँदा ब्रिज डिभिजनमा नै सम्पर्क गर्नुहोस भन्नुहुन्छ ।’ स्टमेटमा स्थानिय कर नजोडेको हुनाले आफुले वडामा राजस्व तिर्न नपर्ने अन्नपुर्ण निर्माण सेवाका सञ्चालक श्रेष्ठले बताए । ‘हामीले स्थानिय स्रोत साधन प्रयोग गरेर बनाउने हो’ उनले भने ‘स्टमेटमा स्थानिय कर जोडेको छैन । यो विषयमा मैले डिभिजनमा पनि कुरा राखेको छु । डिभिजनका सरहरुले सम्बन्धित स्थानिय तहलाई डिभिजनमा नै सम्पर्क गर्न लगाउनु भन्नुभएको छ । मैले वडा अध्यक्षलाई त्यहि कुरा भनिदिएको छु ।’
वडा कार्यालयले भनेजति नदिजन्य सामाग्री प्रयोग नभएको उनले बताए । ‘गाँखुपट्टी मैले ४३ टिप ढुंगाबाहेक केहि प्रयोग गरेको छैन ।’ उनले भने । स्टमेटमा स्थानिय करको विषय उल्लेख नभएको विभागका ठेक्का ब्यबस्था शाखाका इन्जिनियर सागरराम नेपालले स्विकार गरे ।
‘अन्यत्र पनि जहाँ पूल बनाउने हो त्यहिको ढुंगा बालुवा प्रयोग हुन्छ’ उनले भने ‘प्रायः यसरी पूल बनाउँदा कर लिएका छैनन् । यो विषय स्थानिय तह र निर्माण ब्यबसायीबिच समझदारी हुनु जरुरी छ । तर हामीले ठेक्का लगाउँदा तिर्नुपर्ने कर निर्माण ब्यबसायीले ब्यहोर्ने भन्ने हुन्छ ।’




