
चुमनुब्री, धार्चे र अजीरकोटद्वारा पञ्चबर्षीय योजना बनाउँदै
गोरखाका तीनवटा गाउँपालिकाले पञ्चबर्षीय आवधिक योजना तर्जुमा गोष्ठीको सम्पन्न गरेका छन् । चुमनुब्री गाउँपालिकाको फिलिममा, धार्चे गाउँपालिकाको माछाखोलामा र अजीरकोटको भच्चेकबजारमा गाउँपालिकाले हालै गोष्ठी सम्पन्न गरेका हुन् ।
आवधिक योजना निर्माणका लागि तीनवटै गाउँपालिकालाई मक म्याकडोनाल्डको सहकार्यमा पुर्णिमा कार्यक्रमले सहकार्य गरेको थियो । आवधिक योजना निर्माका लागि उनीहरुले सिम्याट नामक कन्सल्ट्याण्टलाई जिम्मा दिएका थिए ।
धार्चे गाउँपालिकाले पाँचबर्षभित्र सुन्दर, सुरक्षित र संवृद्ध धार्चे बनाउने लक्ष्य राखेको छ । पाँचबर्षभित्र गाउँपालिकामा वातावरणमैत्री दीगो पूर्वाधार निर्माण गर्ने लक्ष्य तय गरिएको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए । सो लक्ष्य परिपूर्ति गर्न विभिन्न रणनीति र कार्यनीति पनि तयार गरिएको उनले बताए । पर्यटन, जडिबुटीको व्यवसायिक खेती र पर्यटन विकासमार्फत गाउँपालिकाको सामाजिक आर्थिक विकास, भौतिक पूर्वाधार विकास गर्दै गरिवी निवारण गर्ने योजना तय गरिएको गुरुङले बताए ।

गाउँपालिकाले २२ दिनसम्म १५ जना कर्मचारी खटाएर समग्र तथ्यांक संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । करिब पाँच महिना लगाएर तयार गरिएको प्रस्तावहरु तीनदिने गोष्ठी गरी संशोधनसहित अनुमोदन गरिएको जनाइएको छ । तयार गरिएको आवधिक योजनाको विस्तृत विवरण १० दिनभित्र पुस्तकमार्फत गराउन पाण्डेले जानकारी दिए ।
त्यस्तै अजीरकोट गाउँपालिकाले पनि आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले पाँचवर्षका लागि दीगो विकास हाम्रो सोच, सुन्दर, शान्त संवृद्ध अजीरकोट भन्ने नारा तयार गरेको छ । सो नारा पूरा गर्न अर्गानिक कृषि उत्पादन र पर्यटन विकासमा जोड दिइएको वडा अध्यक्ष तयराज गुरुङले बताए । त्यस्तै भौतिक सुविधा सम्पन्न मेगा विद्यालय, कृषि प्राविधिक शिक्षालय निर्माण गर्ने जस्ता बुँदाहरु समेटिएको वडा अध्यक्ष गुरुङले बताए ।
गाउँपालिकाले पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेको जनाएको छ । दूधपोखरी, नारदपोखरी हुदै रुपिनाला पास जोड्ने पर्यटन पदमार्ग निर्माण गर्ने, बाह्रै महिना गाडी चल्ने सडक बनाउने अवधारणा गाउँपालिकाले लिएको उनले बताए । पाँच महिना लगाएर तयार गरिएको प्रस्तावमाथि तीनदिने गोष्ठीमा छलफल गरिएको उनले बताए ।

मक म्याकडोनाल्डको आर्थिक तथा प्राविधिक सहयोग र पूर्णिमा कार्यक्रमको सहयोगमा चुमनुब्री गाउँपालिकाले पनि आवधिक योजना तर्जुमा गोष्ठी गरेको छ । गोष्ठीले आगामि पाँचबर्षका लागि दीगो विकास, अनुपम संस्कृति ः उन्नत पर्यटन, संवृद्ध चुमनुब्री नारा तय गरेको गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले जानकारी दिए । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै दीगो पर्यटन, व्यवसायिक कृषि, सामाजिक आर्थिक पूर्वाधार विकास गरी आय र रोजगारीका माध्यमबाट नागरिकको जीवनस्तरमा गुणात्मक वृद्धि भएको हुने समष्टिगत लक्ष्य सो गोष्ठीले योजना तय गरेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
नारा साकार पार्न सो क्षेत्रको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिइएको छ । मनास्लु क्षेत्र भएकाले विशेष गरी पर्यटन विकास, वैकल्पिक पर्यटन पदमार्ग निर्माण गर्ने, होटल ब्यबस्थापन गर्ने कुरामा जोड दिइएको गुरुङले बताए ।
त्यस्तै शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रको विकास गर्ने, वुद्ध धर्मसंग सम्बन्धित धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, जगेर्ना गर्ने, जडिबुटी तथा कृषि प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिने बारे प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।




