
नाम्जुङमा जुवातास र रक्सीको कारोबार प्रतिवन्ध
अनुपमा खनाल
गोरखाको शहीदलखन गाउँ पालिका वडा नम्वर ९ नाम्जुङमा जुवातास खेल्न र मदिराको कारोबार गर्र्न प्रतिवन्ध लगाइएको छ ।
जेठ २९ गतेदेखि लागु हुनेगरी जुवातासमा पूर्ण प्रतिवन्ध लगाइएको र मदिराको कारोबार गर्न समय निर्धारण गरिएको वडा अध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए । चाडबाडमा परम्परा जोगाउने उद्देश्यले रमाइलोका लागि बाहेक अन्य समयमा जुवातास खैल्न र खेलाउन रोक लगाइएको वडाध्यक्ष लामिछानेले जानकारी दिए ।

साविकको नामजुङ गाविस अहिले शहीदलखनको वडा नम्वर ९ भएको हो । वडाभित्र मदिरा बिक्री र सेवनमा पनि कडाई गरेको कार्यालयले जनाएको छ । गएको जेठ १७ गते बसेको बैठकले वडा क्षेत्रभित्रका पसल एवम् सार्वजनिक स्थानहरुमा साँझ ६ देखि ८ वजेसम्म मात्रै मदिराजन्य पदार्थ बिक्री गर्न पाइने निर्णय गरेको लामिछानेले जानकारी दिए ।
जुवातास सहित क्यारेमबोर्ड, झण्डीबुर्जा जस्ता खेल खेल्न र खेलाउन पनि रोक लगाइएको उनको भनाई छ । यस्ता खेल खेल्न प्रेरित गर्नेलाई पनि कारवाही गर्ने निर्णय भएको वडाध्यक्ष लामिछानेले बताए । कसैले जुवातास खेलेको वा खेलाएको खबर पाएमा वडा कार्यालय र स्थानीय स्तरमा गठित महिला निगरानी समूहमा जानकारी गराउन पनि वडा कार्यालयले अनुरोध गरेको छ ।

वडा कार्यालयको अनुरोधलाई अटेर गरि यस्ता गतिविधि गरेमा वा गराएमा कारवाही गरिने वडा कार्यालयले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।




