
मध्यपहाडी राजमार्गको गोरखाखण्ड निर्माणमा ढिलाई
अनुपमा खनाल :
पुष्पलाल(मध्यपहाडी) राजमार्ग सडक अन्तरगत गोरखाखण्डको सडक निर्माणमा ढिलाई भएको छ । आरुघाटदेखि चेपेसम्ममा पर्ने ६४ किलोमिटर सडक स्तरोन्नतीको काम सन्तोषजनक नभएको कार्यालयका सुचना अधिकारी विष्णु प्रसाद पाण्डेले स्वीकार गरे ।
गोरखाखण्डको सडकलाई चार प्याकेजमा विभाजन गरी काम गरेपनि लक्ष्य अनुसार प्रगति हुन नसकेको पाण्डेले बताए ।
आबश्यक निर्माण सामाग्रीको अभाव, प्रतिकुल भुगोल तथा मौसम, प्राविधिक समस्या लगायतका कारण लक्ष्य अनुसार काम हुन नसकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडक योजना कार्यालयका सवइन्जिनियर रामकृष्ण रिमालले जानकारी दिए ।
कार्यतालिका अनुसार कार्यालयले काम लगाउन नसक्दा तथा ठेकेदारको लापरबाहीका कारण पनि समयमा काम हुन नसकेको उनको निश्कर्ष छ ।
पहिलो प्याकेज अन्तरगत आरुघाटदेखि ओख्लेसम्मको १३ किलोमिटर सडक असारसम्ममा कालोपत्रे हुनुपर्नेमा हालसम्म चार किलोमिटर मात्रै कालोपत्रे भएको कार्यालयले जनाएको छ ।
सो खण्डमा समग्रमा ६५ प्रतिशत मात्रै काम सकिएको सब इन्जिनियर रिमालले जानकारी दिए । ‘पिच गर्नु अघिको बेस उत्पादन गर्ने मेसिन बिग्रिएर पुसदेखि रोकिएको काम एक महिना अघिबाट मात्रै सुरु भएको हो’, उनले भने, ‘अहिले बेस उत्पादन हुँदैछ । सडकमा हालिसकेको छैन ।’
सोही खण्डमा नै बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने भनिएको ३.३ किलोमिटर सडक पनि कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको उनले बताए ।‘आधिकारिक पत्र आएको छैन, तर पिच गर्ने भन्ने कुरा आएको छ’, उनले भने । आर्थिक बर्ष २०७१÷०७२ मा २५ करोड ४२ लाख रुपैयाँमा सो खण्ड कालोपत्रे गर्ने जिम्मा रसुवा इलाईट सुर्य जेभीले लिएको थियो ।
रसुवाले एकबर्ष अघि नै काम सक्नुपर्ने थियो । तर असारसम्म थप गरिएको समयमा पनि सडक कालोपत्रे नहुने निश्चित भएको छ । पहिलो प्याकेजको १३ किलोमिटर पूरै कालोपत्रे गर्न अझै एक बर्ष समय लाग्ने देखिएको सब इन्जिनियर रिमालले जानकारी दिए ।
दोस्रो प्याकेज अन्तरगत ओख्लेदेखि निबेलसम्म १६ किलोमिटर सडक पनि असार मसान्तसम्म कालोपत्रे हुनुपर्नेमा हालसम्म ५० प्रतिशत मात्रै प्रगति भएको कार्यालयले जनाएको छ । ‘११ किलोमिटरमा ग्राभेल गर्नुभन्दा अघिको तयारी सकिएको छ’, सब इन्जिनियर रिमालले भने, ‘पाँचकिलोमिटरमा ग्राभेलको काम भैरहेको छ । असारसम्ममा ग्राभेल सकिन्छ ।’ एनपिईसिसि एससिएफ जेभीले ३२ करोड ९१ लाख रुपैयाको लागतमा आर्थिक बर्ष २०७२÷०७३ मा सो खण्ड कालोपत्रेको ठेक्का लिएको थियो । अब छ महिना थप गरेर काम गर्ने तयारी भैरहेको उनले बताए ।
निवेलदेखि पालुङटारसम्मको २८ किलोमिटर खण्डको काम तेस्रो प्याकेजको रुपमा रहेको छ । ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय मातहतमा रहेको सो सडकको पालुङटारदेखि मसानेपाटीसम्मको १६ किलोमिटर सडक हालसालै मध्यपहाडीलाई हस्तान्तरण गरिएको छ । सो खण्डमा कालोपत्रेका लागि ठेक्का लगाउने तयारी भएको सुचना अधिकारी पाण्डेले बताए । मसानेपाटीदेखि निवेलसम्मको सडक अझैपनि ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना मातहतमा नै रहेको छ ।

चौथो प्याकेजमा पालुङटारदेखि लमजुङको पाउँदीसम्म १६ किलोमिटरको सडकखण्ड रहेको छ । सोमध्य गोरखामा पर्ने सात किलोमिटर सडक कालोपत्रे भैसकेको सूचना अधिकारी पाण्डेले बताए । बज्रगुरु कञ्चनजंगा जेभीले सो सडक कालोपत्रेको ठेक्का लिएको थियो । मध्यपहाडी राजमार्ग अन्तरगत निर्माण हुने सडकमा दायाँ बायाँ आधा मिटर ग्राभेलको बिचमा सात मिटर कालोपत्रे रहनेछ ।
मध्यपहाडी राजमार्ग अन्तरगत नै गोरखामा तीन वटा मोटरेवल पुल पनि निर्माण भैरहेका छन् । जसमध्ये जराङखोला र मिर्दीखोला पुल निर्माण अन्तिम चरणमा पुगेको सुचना अधिकारी पाण्डेले जानकारी दिए ।
बोहरेखोला पूलको फाउन्डेसनमा समस्या रहेकाले ४० प्रतिशत मात्रै प्रगति रहेको उनले बताए ।
पाँचथरको चिवाभन्ज्याङ देखि बैतडीको झुलाघाटसम्म १७ सय ५० किलोमिटर सडक पुष्पलाल मध्यपहाडी सडकका रुपमा बन्दैछ ।




