| आइतवार, कार्तिक २९, २०८३

बाह्रकिलोदेखि मसानेपाटीसम्मको सडक मर्मत सुरु, १२ किलोदेखि सिर्दीखोलासम्म बाटो असार १२ गतेसम्म बन्द

 

अनुपमा खनाल :

कालोपत्रे भएको केही समयभित्रै भत्किएर जीर्ण भएको गोरखाको बाह्रकिलोदेखि मसानेपाँटीसम्मको सडक मर्मत सुरु भएको छ । दशबर्षअघि गरिएको कालोपत्रे ठाउँ ठाउँमा उप्किएर जीर्ण भएको सो सडक पुनः कालोपत्रे गर्न लागिएको हो ।
असार मसान्तभित्रै चार किलोमिटरको सो सडक खण्ड कालोपत्रे हुने एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका इन्जिनियर राजेश यादवले बताए । ‘अहिले मर्मतको काम सुरु भसक्यो’, उनले भने, ‘जेठ २९ गतेदेखि असार १२ गतेसम्म १२ किलोदेखि सिर्दीखोलासम्म बाटो पनि बन्द गर्ने निर्णय भएको छ ।’ यो अबधिमा १३ किलोदेखि सिर्दिखोला हुँदै यातायात सञ्चालन गर्न सकिने उनको सुझाव छ ।
संघीय सरकार मार्फत गोरखा एप्रोपिएट फर रिकन्स्टूक्सन नामको ठेकेदार कम्पनीले एक करोड ७७ लाख रुपैयाँमा सडक पुनःकालोपत्रेको ठेक्का लिएको छ । कालोपत्रेका क्रममा नाला ब्यबस्थापन पनि गरिने भएको छ ।
यसअघि सडक कालोपत्रे गर्ने क्रममा ब्यवस्थित नाली निर्माण नहुँदा सडक छिट्टै भत्किएको हुन सक्ने प्राविधिकको ठम्याइ छ । लगातार पानी बगिरहने करीव दुईसय मिटरखण्डमा भने ढलान गरिने भएको छ । सडक विग्रेको ठाउँमा पिच उप्काएर नै कालोपत्रे गर्ने इन्जिनियर यादवले जानकारी दिए । नाला ब्यबस्थापन नहुनुका साथै आबश्यक मर्मत सम्भारको अभावमा सो सडक पुनः कालोपत्रे गर्नुपर्ने अबस्था आएको कार्यालयको निष्कर्ष छ । बाह्र किलो हुँदै बारपाकसम्म जाने सडकको प्रस्थानविन्दूकै सडक भत्किएपछि स्थानीय बासिन्दाले मर्मतको माग गर्दै आएका थिए ।

बर्षायाममा सवारी साधन चलाउनै नसक्ने अवस्था आउने गरेको थियो । सडक स्तरोन्नती नहुँदा सवारी आवातजावातमा पनि समस्या थियो । यस्तै पैदल यात्रुलाई पनि समस्या थियो । केही वर्षअघि नै उक्त सडक मर्मत गर्नुपर्ने भएपनि मर्मतको शीर्षकमा वजेट नआएका कारण ढिलो गरेर काम सुरु भएको इन्जिनियर यादवले जानकारी दिए ।

बाह्रकिलो वारपाक सडक अन्तर्गतको पहिलो ४ किलोमिटरखण्डको कालोपत्रे भएपनि त्यसभन्दा अगाडीको सडक मर्मतबारे भने अन्यौल रहेको
छ ।

मसानेपाटीबाट चोरकाटेसम्मको सडकमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी परेको छ । चोर काटेदेखि वारपाकसम्मको सडक भने स्तरोन्नतीको काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्