
सरकारविरुद्ध सडकबाटै आन्दोलनको चेतावनी
नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारले अघि सारेका कतिपय नीति तथा कार्यक्रमलाई ‘अलोकतान्त्रिक’ को संज्ञा दिदै त्यस्ता नीति तथा कार्यक्रमलाई सदनबाट पास हुन नदिने चेतावनी दिएका छन् । नेपाली काङग्रेस गोरखा नगर समितिको सम्मेलनलाई आइतबार उद्घाटन गर्दै नेता देउवाले प्रेस काउन्सिल, गुठी विधेयक, मानव अधिकार हनन गर्ने विधेयक अलोकतान्त्रिक रहेको भन्दै यसकाविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
‘नेपालमा अहिले वलीको सरकार छ । यो सरकार अलोकतान्त्रिक छ । यसले अहिले सबैतिर बर्बाद गरेको छ’, उनले भने, ‘मानव अधिकार, नागरिक अधिकार, प्रेस स्वतन्त्रताको अधिकार सबै खोसेर निरङ्कुशता लाद्ने तयारी गरिरहेका छन् ।’ सुरक्षा परिषदको निर्णयले मात्र परिचालन गर्ने सेना प्रधानमन्त्री वलीले आफ्नो हातमा लिएर निरंकुशता लाद्ने दुष्प्रयास गरेको उनले आरोप लगाएका छन् ।
‘प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको नै प्रेस स्वतन्त्रता हो । मानव अधिकार भन्ने कुरा संसारभरि सुनिश्चित गरिएको हुन्छ तर वलीको सरकारले मानव अधिकार खोसेको छ, प्रेसको अधिकार खोसेको छ’, उनले भने, ‘नेपाली कांग्रेसले राणा शासन हटाएको यही कारणले हो, पञ्चायती शासन हटाएको यही कारणले हो । अब नेकपाको शासनका विरुद्ध पनि नेपाली काङ्ग्रेस सदन र सडकबाट चुनौति दिनेछ । उसका अलोकतान्त्रिक कदम सके सदनबाटै फिर्ता गराउनेछ, नसके सडक आन्दोलन गरेर भएपनि सच्याउन बाध्य पार्ने छ ।’
ठूलो परिमाणको आर्थिक चलखेल गरेर बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने तयारी गरिरहेको पनि उनले बताए । ‘देशको सबैभन्दा ठूलो आयोजना विना प्रतिष्पर्धा चिनियाँ कम्पनीलाई जसरी दिन खोजिएको छ यो मिल्दैमिल्दैन’, उनले भने, ‘नेपालको प्रचलित ऐन, कानूनको धज्जी उँडाएर ५०, ६० बर्षका लागि चिनियाँ कम्पनीलाई दिन खोजिएको छ, यसमा ठूलै आर्थिक चलखेल भएको छ ।’ बूढीगण्डकी बनाउन नेपाली स्वयं सक्षम रहेको उनले दाबी गरे । आफ्नो सरकारको पालामा योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको प्राविधिक टिमले नेपालीकै लगानीमा बूढीगण्डकी आयोजना बनाउने बारे अध्ययन गरेको उनले बताए ।
भूकम्पले भत्किएको ऐतिहासिक गोरखा दरबार पुनिर्निर्माणको कामको कत्तिपनि प्रगति नभएकोप्रति दुख ब्यक्त गर्दै उनले यसका बिषयमा संसदमा कुरा उठाउने पनि उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रका शर्माले सरकारले दाइजोको रुपमा बूढीगण्डकी आयोजना गेजुवालाई सुम्पिएको आरोप लगाए । सम्बोधनको अधिकांश समय सरकारको आलोचनामा खर्चिएका शर्माले रेल भन्दा पहिले ग्राभेल सडक पिच गरेर अघि बढ्न सुझाव दिए । ‘हामीले कालो पञ्चायतलाई त सहेनौं, अब रातो अधिनायकवाद ल्याउने दुस्साहस नगर्नु होला’, सरकारलाई चेतावनी दिँदै शर्माले भने, ‘देशमा निर्वाचन नगराई सत्ता कब्जा गर्ने हिम्मत छ ? विप्लब नेतृत्वको नेकपालाई राजनीतिक मुलधारमा ल्याउने वातावरण बनाउन उनको आग्रह छ । ‘विप्लबको रगत चढाएर लोकतन्त्र बलियो हुँदैन’ उनले भने ‘विप्लब मित्रहरु जनताको छोराछोरी मार्न छाडेर शान्तिमा आउनुहोस् ।’
कार्यक्रममा तरुण दलका केन्द्रीय सभापति जीतजङ बस्नेतले वर्तमान सरकार भ्रष्टाचारी रहेको आरोप लगाए । निर्मला पन्तको हत्यारालाई तरुण दलले खोजी गर्ने उनले बताए । कार्यक्रममा केन्द्रिय सदस्यहरु कमला पन्तले ३३ प्रतिशत महिला सहभागिता हरेक क्षेत्रमा सुनिश्चित गर्न माग गरिन् । नेता सुरेन्द्रराज पाण्डेले राणा र पञ्चायत विरुद्ध लडेको कांग्रेस अब कम्युनिष्टसँग लड्ने बेला भएको बताए । केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले सरकारलाई जनताले भरोषा मान्नुपर्नेमा डराउनुपर्ने अबस्था सिर्जना भएको बताए । केन्द्रिय सदस्य डिला संग्रौलाले वर्तमान सरकारले महंगी, भ्रष्ट्राचार,शोषण बाहेक केहि दिन नसकेको आरोप लगाईन् । जिल्ला सभापति हरिबहादुर घले र महासमिति सदस्य मेयर राजनराज पन्तले कम्युनिष्ट विरुद्ध लड्न एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए । नेपाली कांग्रेसका नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा नगर सम्मेलन उद्घाटन समारोह सम्पन्न भएको हो । समसामयिक राजनितिक अबस्था र सांगठनिक अबस्थाका विषयमा छलफल गर्दै दोस्रो नगर सम्मेलन सोमबार सकिनेछ ।




