| आइतवार, कार्तिक २९, २०८३

विप्लवका गोरखा नेता प्रशासनले छाड्ने, प्रहरीले पक्रने

विप्लव नेतृत्वको नेकपाका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई जिल्ला प्रशासन कार्यालय गोरखाले रिहा गरेको छ । जिल्ला प्रशाासन कार्यालयले उनलाई मंगलबार एक हजार रुपैया धरौटीमा साधारण तारेखमा रिहा गरेको हो ।
गत बैशाख २७ गते पक्राऊ परेका उनीविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाएको थियो । प्रशासनले रिहा गरेपनि थप अनुसन्धानका लागि भन्दै कुमाललाई प्रहरीले फेरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनलाई मंगलबार नियन्त्रणमा लिएर आगजनी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहूँ पठाइएको एसपी भोला रावलले जानकारी दिए ।
जिल्ला इन्चार्ज कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले गएको बैशाख २२ गते पालुङटारबाट पक्राऊ गरेको थियो । उनीहरुलाई अदालतले गएको बैशाख २७ गते ५÷५ हजार रुपैया धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । धरौटीमा छुटेका दुबै नेतालाई प्रहरीले सोही दिन पक्राऊ गरेको थियो । कुमाललाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्धा चलाइएको थियो । सेक्रेटरी भट्टलाई पनि तनहुँमा दर्ता भएको मुद्धाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको छ । प्रहरीले छुट्टाछुट्टै मितिमा पक्राऊ गरि राजद्रोहकै मुद्धा चलाइएका सोही पार्टीका जिल्ला जनपरिषद प्रमुख विष्णु रिजाल र जिल्ला सदस्य अञ्जु कुमाल भने ५÷५ हजार रुपैया धरौटीमा रिहा भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्