| आइतवार, कार्तिक २९, २०८३

छिमेकीको सहयोगमा एकल महिलाको घर पुनर्निर्माण

छिमेकी तथा एक गैह्रसरकारी संस्थाको सहयोगमा गोरखा नगरपालिका ५ पँदेलथोकमा ८५ बर्षिय एकल महिलाको घर पुनर्निर्माण भएको छ । गोरखा दरबार क्षेत्रमा मागेर गुजारा चलाउँदै आएकी विष्णुमाया सार्कीको भुकम्पले भत्केको घर छिमेकी तथा भारत सरकारको सहयोगमा सञ्चालित नेपालआवास पुनर्निर्माण परियोजनाको सामाजिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भएको हो । सरकारले भुकम्प पिडीतलाई घर बनाउन दिने अनुदान रकमको पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ उनले खर्च गरि सकेकी थिईन् ।
परियोजना तथा स्थानियको सहयोगमा दुई लाख २८ हजार रुपैयाँमा घर पुनर्निर्माण सम्पन्न गरी अनुदानको बाँकी रकम वृद्धा विष्णुमायालाई नै घर खर्चका रुपमा प्रदान गरिएको परियोजनाका इन्जिनियर रविन पोखरेलले बताए । भुकम्पपछि टहरोमा बस्दै आएकी उनी भुकम्प प्रतिरोधी घर बनेपछि खुसी भएकी छिन् ।
मंगलबार एक कार्यक्रमका बिच विष्णुमायालाई घर हस्तान्तरण गरिएको छ । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रामकुमार थापा, गैर सरकारी संस्था महासंघका अध्यक्ष सिताराम श्रोष्ठ, टोल सुधार समितिका सल्लाहाकार रामशरण कट्टेल, परियोजनाकी सामाजिक परिचालक मन्दिरा बस्नेत, समूह संयोजक ईश्वर घिमिरे, सामाजिक विशेषज्ञ घनश्याम खतिवडा, आवास निर्माण साथी गोविन्दश्रेष्ठ, धनबहादुर थापालगायतले मन्तब्य ब्यक्त गरेका परियोजनाकी सञ्चार अधिकृत तारा ढकालले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्