| आइतवार, कार्तिक २९, २०८३

पानीको मूल दर्ता गर्न नदिएको भन्दै बस्नेत परिबारलाई सामाजिक बहिष्कार

खानेपानी योजनाको मुहान दर्ता गर्न अबरोध गरेको भन्दै सिरान चोक गाउँपालिका २ खमारीका खोपबहादुर बस्नेतलाई दुईबर्षदेखि गाउँलेले बहिष्कार गरेका छन् । स्थानीय आमाबाउ समूहको बैठकले उनलाई बहिष्कार गर्ने निर्णय गरेको पीडित बस्नेतले बताए ।

‘तपाइँलाई बहिष्कार गरिएको छ भन्ने निर्णयको फोटोकपी ल्याएर दिएका छन्’, उनले भने, ‘दुईबर्ष भइसक्यो, भातपानी, टिकोटालो, भोजभतेर, मेलापर्म, लेनदेन सबैमा पर्गालेका छन् । निर्णय अटेरी गरी कोही मेरो परिबारसंग मिलेमा पाँच हजार रुपैंया जरिबाना गर्ने निर्णय पनि लेखेका छन् ।’ आफूलाई गाउँमा एक्लो बनाएको भन्दै गाउँपालिका को न्यायिक समितिमा निवेदन दिए पनि न्याय नपाएको उनले बताए ।
न्यायिक समितिले गत जेठ पाँच गते बोलाएको दुई पक्षीय भेलामा गएर फर्कँदा केही युवाहरुले आफू र श्रीमती डिलमाया बस्नेतमाथि आक्रमण गरेको पनि उनले बताए । ‘मचाहिँ भागेर बाँचेँ । अनि हर्मी चौकीमा गएर शरण लिएँ । बुढीलाईचाहिँ कुटपिट लछारपछार गरे । आँपपीपल अस्पतालमा उपचार गरेर आएकी छिन्’, उनले भने । आफ्नो खेतभन्दा माथिको मुहानको केही पानी सिँचाइका लागि छाडिदिनु पर्ने बस्नेतको माग छ । सिँचाइ भन्दा खानेपानी महत्वपूर्ण भएकाले कत्तिपनि पानी नछाड्ने गाउँलेको तर्क छ ।


सो विवाद जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसम्म पनि आएको थियो । तर जिल्ला प्रहरी कार्यालयले फेरि प्रहरी चौकी हर्मीमा र हर्मीले न्यायिक समितिमा नै पठाएको हर्मी चौकीका असई केशबहादुर पौडेलले बताए । गाउँलेले सो मुहानको पानी बिगत २५ बर्षदेखि अस्थायी रुपमा उपभोग गर्दै आएका थिए । हालै नेपाल रेडक्रस सोसाइटीले पक्की संरचना बनाइदिने तयारी गरेपछि उपभोक्ताले मुल दर्ताको प्रक्रिया अघि बढाएका थिए । मूल दर्ता गर्न अबरोध गरेपछि उनलाई गाउँलेले बहिष्कार गर्ने निर्णय गरेको स्थानीय राजेश भण्डारीले स्वीकार गरे । ‘२५ बर्ष पहिलेदेखि गाउँलेले खाँदै आएको पानीको मूल अब दर्ता गर्न दिन्न भनेपछि सबै गाउँले आक्रोशित भएर एक्ल्याउने निर्णय गरेका हुन् । कसैले सहयोग गरे पाँच हजार रुपैयाँ जरिबाना गर्ने निर्णय पनि भएको हो’, उनले भने, ‘तर लिखित निर्णय गर्नु उचित नहुने भएकाले सो निर्णय सच्याएका छौं । सच्याएको ब्यहोराचाहिँ उहाँको परिबारलाई दिन छुटेको होला ।’

लालपूर्जामा नभएको जग्गाको मूल पनि दर्ता गर्न नदिएपछि बल्लतल्ल पाएको खानेपानी आयोजना असफल भएपछि गाउँले एक भएर उनलाई एक्ल्याएको भण्डारीले जानकारी दिए । खानेपानीको पाइप काट्ने, पाइपमा ठेँडी हाल्ने, बिभिन्न झुठा आरोप लगाएर बस्नेत परिबारले गाउँलेलाई सताउने गरेको उनले बताए ।आफूले स्थलगत अध्ययन गर्ने तयारी गरिरहेका बेला कुटपिटको घटना भएकाले बस्नेत परिबारले प्रहरी गुहारेको गाउँपालिकाकी उपप्रमुख रीता देवकोटाले बताइन् । ‘अघिल्लो दिनमा बैठक भयो । भोलिपल्ट स्थलगत अध्ययनमा जाने भनेर बैठक स्थगित भयो तर बेलुकी कुटपिटको घटना भएर उनीहरु प्रहरी कार्यालयतिर गएछन् । त्यसपछि म भएको ठाउँमा उजुरी आएको छैन’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्