
गोरखा नगरपालिकामा पनि अब नगरप्रहरी
गोरखा नगरपालिकाले नगरप्रहरी राख्ने भएको छ । नगरपालिकाको शान्ति सुरक्षा र नगरलाई व्यस्थित बनाउने उद्देश्यले नगरप्रहरी राख्ने तयारी गरेको नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।
आइतबार सम्पन्न कार्यपालिकाको बैठकले प्रहरी राख्न नगरप्रहरी ऐन र कार्यविधि पास गरेर अघि बढ्ने निर्णय गरेको पन्तले बताए । ‘आजको बैठकले नगरप्रहरी राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ’, मेयर पन्तले भने, ‘त्यसका लागि कार्यालयले ऐन र कार्यविधिको मस्यौदा बनाएर आउँदो ११ गते हुने कार्यपालिकाको बैठकले मस्यौदा पास गरी अघि बढ्ने निर्णय भएको छ ।’

नगरलाई व्यबस्थित बनाउन र न्यायिक समितिका लागि नगर प्रहरीको खाँचो परेको नगरपालिकाले जनाएको छ । ‘न्यायिक समितिको निर्णयअनुसार कसैलाई नियन्त्रणमा लिनुपर्दा पनि नगरप्रहरीको खाँचो महशुस भएको छ । बजारलाई व्यबस्थित बनाउन पनि नगरप्रहरीको आवश्यकता परिरहेको छ’, मेयर पन्तले भने ।
आइतबार सम्पन्न कार्यपालिका बैठकले आउँदो असार १० गतेभित्र आउँदो आर्थिक बर्ष २०७६, ०७७ को बजेट तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ ।




