
शहीद लखनमा विज्ञ सम्मेलन : मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने
किरण लोहनी :
प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न शहीद लखन गाउँपालिकाले पहल गर्ने भएको छ ।
सो गाउँपालिकाको वडा नम्वर २ स्थित मनकामना मन्दिरक्षेत्रलाई सम्पदा सूचीमा समावेश गर्नका लागि प्रारम्भिक गृहकार्य थालिएको अध्यक्ष रमेश थापामगरले बताए ।

युनेस्कोले सम्पदा सूचीमा समावेश हुनका लागि तय गरेको मापदण्ड पूरा गराउने पहल थालिएको उनको भनाई छ । मनकामनालाई विश्व सम्पदा सूचीमा समावेश गर्न विभिन्न क्षेत्रका विज्ञहरुले पनि सुझाव दिएका छन् । शहीद लखन गाउँपालिकाको आयोजनामा शनिवार भएको विज्ञ सम्मेलनमा बोल्दै उनीहरुले मनकामना सहित देशकै प्रथम शहीद लखन थापामगरको जन्मस्थल अन्त र्राष्टिूय पर्यटकीय गन्तब्य बन्न सक्ने उनीहरुको विश्वास छ ।
सम्मेलनमा आ(आफ्नो क्षेत्रको कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले गोरखा मनकामना र अाँबुखैरेनी मनकामना सडक कालोपत्रे गर्न, पालिकाका सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण गर्न, विद्युतीकरण गर्न अप्ठ्यारो पर्ने ठाऊँमा सोलार प्यानल वितरण गर्न गाउँपालिकालाई सुझाव दिएका छन् ।

पालिकाको समग्र क्षेत्र समेट्ने गरी योजना निर्माणका लागि विभिन्न क्षेत्रका विज्ञहरुको सम्मेलन गरिएको गाउँपालिका अध्यक्ष थापामगरले बताए ।
गाउँपालिकाको केन्द्र घैरुङमा आयोजित सम्मेलनमा विभिन्न ५ वटा विषयगत क्षेत्र समेटेर विज्ञ समूहले योजनाको खाका प्र्रस्तुत गरेका छन् । गाउँपालिकाले यसअघि पाँचवटा विषयगत समितिका विज्ञहरु छनौट गरिसकेको थियो । शहीद लखनमै जन्मिएर विभिन्न क्षेत्रमा स्थापित विज्ञहरु समितिमा छन् ।
सम्मेलनमा सामाजिक विकास समितिका विज्ञ समूह संयोजक पूर्व सहसचीव धनबहादुर श्रेष्ठ, आर्थिक विकास समितिका विज्ञ समूह संयोजक विपिन मल्ल, पूर्वाधार विकास समितिका विज्ञ सल्लाहकार संयोजक इन्जिनियर दिपक श्रेष्ठ, वन, वातावरण तथा विपद् ब्यवस्थापनका विषयमा सो समितिका संयोजक डाक्टर एकबहादुर राना र सुशासन, संस्थागत विकास समितिका विज्ञ संयोजक नरहरि न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । विज्ञहरुले पेश गरेका सुझावका आधारमा शहीद लखनको दीर्घकालीन योजना तय गर्ने गाउँपालिका अध्यक्ष रमेश थापामगरले बताए । ‘गाउँपालिकाको आवधिक योजना निर्माणमा पनि यो सम्मेलनले सघाउने छ’, उनले भने, ‘सम्मेलन काआधारमा अल्पकालीन, मध्य कालीन तथा दीर्घकालीन योजना छनौट गर्छौँ ।’

सम्मेलनमा बोल्दै प्रतिनिधिसभाका साँसद हरिराज अधिकारीले आगामि आर्थिक वर्ष स्थानीय तहको वजेट बृद्धि हुने बताए । संसदको अर्थ समितिका सदस्य समेत रहेका अधिकारीले सरकारलाई वजेट बृद्धिका लागि सुझाव दिइएको जानकारी दिए ।
सरकारको पहिलो वर्षलाई प्रारम्भिक वर्षको रुपमा बुझ्न आग्रह गर्दै उनले अबको वर्षहरुमा नागरिकले अनुभूत गर्ने गरी सरकारले कार्यसम्पादन गर्ने दावी गरे ।




