
गोरखनाथ मन्दिरमा जेठ चार गतेदेखि रोट महोत्सव हुने
सिद्धाश्रम शक्तिकेन्द्रले गोरखनाथ प्रकट दिवस (बैशाख पूर्णिमा)को अवसर पारेर गोरखामा यो वर्ष पनि रोट महोत्सव हुने भएको छ । आउँदो जेठ ४ गतेदेखि १४ गतेसम्म १६ औं सवालाख रोट महोत्सव गर्न लागिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । सिद्धाश्रम शक्तिकेन्द्रले २०६० सालदेखि हरेक वर्ष महोत्सव गर्दै आएको छ ।

सदरमुकामबाट ऐतिहासिक गोरखा दरबारको आडैमा रहेको गोरखनाथ गुफासम्म रथयात्रा र कलश यात्रा गरेर धार्मिक विधि अनुसार रोट महोत्सव गर्न लागिएको केन्द्रले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
चामलको पिठोमा चिनी सहित बिभिन्न ३२ प्रकारका मसला मिसाएर घिउमा खारेर पकाइने परिकार रोट हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहका समेत गुरु मानिने गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने बस्तु रोट भएकोले उनलाई खुशी पार्न महोत्सव गरिएको आयोजकले बताएको छ ।

भगवान शिवका आधुनिक अवतार समेत मानिने गोरखनाथलाई रोट चढाउने प्रचलन धेरै अघि देखि चल्दै आएपनि त्यसलाई महोत्सवकै रुपमा आयोजना गर्न थालिएको भने २० वर्ष वर्षमात्रै भएको छ । अरुबेला भक्तजनले आफूखुशी केही संख्यामा रोट बनाउने भएपनि महोत्सवका सबै दिनमा गरेर एक लाख २५ हजार भन्दा बढी संख्यामा रोट चढाउने गरिन्छ । यसो गरे गोरखनाथ खुशी हुने र देशमा सुख शान्ति, समृद्धि प्राप्त हुने शिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोर अकेलाको विश्वास छ । यसबाहेक यो महोत्सवले गोरखालाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरी संसारभर चिनाउनका लागि पनि मद्धत गर्ने उननले बताए ।

महोत्सवमा आउने भक्तजनका लागि निशुल्क रुपमा खाना र बासको ब्यवस्था गरिने केन्द्रले जनाएको छ । विशेषगरी आयोजक सिद्धाश्रम शक्तिकेन्द्रको विभिन्न ठाउँमा रहेका केन्द्रहरुबाट महोत्सव अवधीभर हजारौंको संख्यामा भक्तजनहरु गोरखा आइपुग्ने गरेका छन् । विशुद्ध धार्मिक पर्व भएपनि रोट महोत्सवले गोरखाको आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पु¥याउँदै आएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक अकेलाले बताए । महोत्सवमा स्थानीयको सहभागिता घट्दै गएको भन्दै आयोजक सिद्धाश्रम शक्ति केन्द्रले चिन्ता जनाएको छ । यो पटकको रोट महोत्सवमा केन्द्रका विभिन्न जिल्लाका साधकहरुले चामल, तरकारी, पूजा सामग्री जुटाएर पठाउने अकेलाको भनाई छ । सिद्धाश्रम शक्ति केन्द्र गोरखाले भने दाउरा र पानीको ब्यवस्थापन गर्नेछ । महोत्सवको पहिलो दिन केन्द्रको शक्तिचोकस्थित कार्यालयबाट गोरखनाथ गुफासम्म शोभायात्रा गरिनेछ ।




