
किसानहरुलाई अनुदानमा प्राङ्गारिक मल उपलब्ध गराइने
गोरखाका किसानहरुलाई अनुदानमा प्राङ्गारिक मल उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारले कृषि ज्ञानकेन्द्र मार्फत ७० प्रतिशतसम्म अनुदानमा प्राङगारिक मल उपलब्ध गराउन लागेको हो ।
प्राङ्गारिक मल प्रयोग गर्न चाहने किसानलाई निवेदन दिन आग्रह गरिएको ज्ञानकेन्दका्र प्रमुख दूर्गा पण्डितले बताए । ‘किसानले आउँदो जेठ १९ गतेसम्ममा केन्द्रमा निवेदन पेश गर्न सक्नेछन्’ उनले भने ‘खेती गरिने जग्गाको लालपूर्जा, कृषक समूह वा सहकारीको हकमा निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस लगायतका कागजात सहित निवेदन दिन सकिन्छ ।’ एकजना कृषकले दुई सय ५० केजीका दरले बढीमा १० रोपनी जग्गाका लागि प्राङ्गारिक मल प्राप्त गर्न सक्नेछन् । चालु आर्थिक वर्ष अनुदानमा ६० मेटिूक टन मल वितरण गर्नेगरि प्रदेश सरकारबाट कार्यक्रम स्विकृत भै आएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ ।

किसानबाट निवेदन संकलनसँगै मल वितरण गर्न चाहने फर्मको प्रस्ताव पनि संकलन गरिने ज्ञानकेन्द्र प्रमुख पण्डितले बताए ।
रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति कमजोर बन्दै गएकाले बालीनालीमा प्राङ्गारिक मल हाल्न किसानलाई प्रोत्साहनका लागि अनुदान दिईएको उनको भनाई छ। ‘अहिले धेरैठाउँमा माटोको अम्लियपना बढि छ’ उनले भने ‘ प्राङ्गारिक मलले माटोको अम्लियपना घटाउँछ, माटो खुकुलो बनाउँछ, बोटविरुवालाई आबश्यक खाद्यतत्व प्राप्त हुन्छ ।’
स्थानिय स्तरमा पाईने तीतेपाती, असुरो,गाईवस्तुको मल प्रयोग गरेर पनि प्राङ्गारिक खेती गर्न सकिने उनले जानकारी दिए । अनुदानमा प्राङगारिक मल वितरणसँगै यस प्रकारको मल उत्पादन गर्न चाहने किसानलाई पनि अनुदान उपलब्ध गराउने तयारी भैरहेको गण्डकी प्रदेशका भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताएका छन् ।
कृषि फर्म वा कृषक सहकारीलाई उनीहरुको उत्पादन योजनाका आधारमा अनुदान उपलब्ध गराउन लागिएको हो ।
मल कारखानाका लागि प्रयोग हुने यन्त्र वा उपकरण खरीद र कारखाना निर्माणको कुल लागतको ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने मन्त्री थापाले बताए ।

यसका लागि मन्त्रालयले पुष पहिलो साता प्रस्ताव आब्हान गरेकोमा गोरखाबाट २ वटा निवेदन परेका छन् ।
छनौट भएका कृषि फर्म वा सहकारीको कार्यप्रगति र सम्बन्धित प्राविधिकको स्थलगत सर्भेक्षण प्रतिवेदनका आधारमा सम्बन्धित फार्मलाई बढीमा ५० लाख रुपैयासम्म अनुदान उपलब्ध गराइने थापाले जानकारी दिए ।
मल उत्पादक फार्मले तीन किस्तामा अनुदान रकम पाउनेछन् । भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले प्राङगारिक मल उत्पादन तथा वितरण सहयोग कार्यक्रम सञ्चालन कार्यविधिनै बनाएर अनुदानको कार्यक्रम अघि सारेको हो ।
कार्यविधिमा मल कारखानाले कम्तिमा ७५ प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नुपर्ने र सबै कामदार नेपाली हुनुपर्ने ब्यवस्था गरेको छ ।
उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउने विषय पनि कार्यविधिमा समेटिएको छ ।




