| आइतवार, कार्तिक २९, २०८३

सिरानचोक र अजीरकोटमा छ महिनादेखि वृद्धभत्ता वितरण भएन

सिरानचोक र अजीरकोट गाउँपालिकाका ज्येष्ठ नागरिकले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

गत मंसीर महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर कुँबरले जानकारी दिए ।

भत्ता वितरणमा ढिलाइ हुँदा वृद्धवृद्धा लाई समस्या भएको स्थानीय विष्णुप्रसाद पोखरेलले जानकारी दिए । ‘बुढाबुढीलाई त भत्ता भनेको धेरै ठूलो कुरा हुन्छ’, उनले भने, ‘त्यही भत्ताबाट उनीहरुले इच्छा लागेको कुरा किनेर खाने, लगाउने गर्छन् । तर लामो समयदेखि बुढाबुढीको रहरमाथि कुठाराघात भएको छ ।’ कुनै पनि बहानामा भत्ता वितरण गर्नमा ढिलाइ गर्न नहुने उनले बताए ।
वैंकमा खाता खोलेर मात्र भुक्तानी दिने निर्णयका कारण भत्ता वितरणमा ढिलाइ भएको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुँबरले बताए ।

अजीरकोटले भने सामाजिक सुरक्षा भत्तावापत आउने रकम नै अपुग आएकाले दिन नसकिएको जनाएको छ ।
‘२०७२ सालदेखि नै सबै सामाजिक सुरक्षा भत्ता वैंक खाता खोलेर राखिदिने सरकारको नीति थियो’, कुँबरले भने, ‘नगरपालिका हरुले कार्यान्वयन गरिसकेका छन् । हाम्रो ढिला भयो ।’ खाता खोल्ने प्रक्रियाका कारण ढिला भएको उनको भनाइ छ । ‘हामीले सामाजिक सुरक्षा भत्ता पाउने सबैको सिफारिस ग्लोबल आइएमई वैंकमा पठाइसकेका छौं तर वैंकले इन्टूी गर्न ढिला गरेकाले भत्ता बाँड्न पनि ढिला भएको हो ।’

दुवै गाउँपालिकाका ज्येष्ठ नागरिक, एकल महिना, अपांगहरुले पहिलो किस्ता मात्र भत्ता पाएका छन् । ‘वैंकले जेठ महिनाभित्र सबैको खाता खोलिसक्छौं भनेको छ’, कुँबरले भने, ‘यदि जेठको दोस्रो साताभित्र पनि खाता खोलिसकिएन भने दुई किस्ताको एकमुष्ठ रकम बिगतमा जस्तै नगदै दिनेछौं ।’

अजीरकोटमा भने भत्ताका लागि रकम निकासा नआएकाले ढिला भएको प्रमुख प्रशासकीय अधिकृत परमेश्वर पन्तले जानकारी दिए । ‘रकम पूरै आउला अनि सबैलाई एकैसाथ बाडौँला भनेर पर्खदा ढिला हुन गयो’, उनले भने, ‘म पनि भर्खरै आएँ । खाता सञ्चालन पनि भएको छैन । अब आजभोलि नै खाता सञ्चालन गरी घरघरमै गएर भत्ता वितरण हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्