
नौ गाउँपालिकामा नेकपाका समिति गठन, दुई नगरपालिकाको जिम्मा प्रदेश कमिटिलाई
किरण लोहनी
नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखाले जिल्लाका नौ वटै गाउ ँपालिकाको सांगठनिक एकताको टुंगो लगाएको छ । जिल्ला कमिटिका अध्यक्ष र सचिव सहित जिल्लामा उपलब्ध प्रदेश सदस्यहरुको बैठकले शनिवार गाउँपालिकाहरुको अध्यक्ष र सचिव सहित सदस्यहरुको नाम टुंगो लगाएको हो । जस अनुसार नौवटा गाउँपालिकामध्ये ६ वटामा साविक माओवादीले नेतृत्व गर्नेछ भने बाँकी तीन वटाको नेतृत्व साविक एमालेले गर्ने भएको छ ।
एउटा पार्टीले अध्यक्षता गरेको स्थानीय तहमा साविकको अर्को पार्टीले सचिव पाउने गरी जिम्मेवारी टुंगो लगाइएको नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापाले बताए । साविक माओवादीले चुमनुब्री, धार्चे, गण्डकी, अजिरकोट, भीमसेनथापा र बारपाक सुलिकोटमा अध्यक्षता गर्ने भएको छ भने आरुघाट, सिरानचोक र शहीद लखन गाउँपालिकामा साविक एमालेले अध्यक्ष पाएको छ ।
अध्यक्ष थापाका अनुसार चुमनुब्री गाउँपालिकाको अध्यक्षमा कुमारी गुरुङ र सचिव राज गुरुङ, धार्चेको अध्यक्षमा लक्ष्मण गुरुङ र सचिवमा शेरबहादुर गुरुङ, गण्डकीको अध्यक्ष सीताराम रसाइली र सचिवमा लेवेन्द्र गुरुङ र अजिरकोट गाउँपालिको अध्यक्षमा सनिल परियार र सचिवमा सनबहादुर तामाङलाई चयन गरिएका छ । त्यस्तै आरुघाट गाउँपालिकाको अध्यक्षमा नारायणध्वज खड्का र सचिवमा श्यामकुमार श्रेष्ठ, सिरानचोकको अध्यक्षमा देवराज श्रेष्ठ र सचिवमा शितलचन्द्र पोखरेल, शहीद लखनको अध्यक्षमा मनोज जोशी र सचिवमा ध्रुव खनाल, भीमसेनथापा गाउँपालिकाको अध्यक्षमा सुजन पाण्डे र सचिवमा साधुराम थापा तथा वारपाक सुलिकोटको अध्यक्ष नरबहादुर गुरुङ र सचिवमा सुजन गुरुङलाई चयन गरिएको छ । सबै स्थानीय तहमा रहने एक एक जना इन्चार्जको भने चयन गर्न बाँकी रहेको छ ।
नेकपाको विधान अनुसार गाउँपालिकामा ७५ र नगर कमिटिमा ८१ जना सदस्य रहनेछन् । बैठकले अध्यक्ष र सचिव सहित स्थानीय तहका कमिटि सदस्य हरुको नामावली प्रदेश कमिटीमा पठाएको छ ।
गाउँपालिकाहरुको सांगठनिक एकता टुंगिए पनि दुई वटा नगरपालिकाको नेतृत्व कसले गर्ने भन्नेमा भने सहमति हुन सकेन । साविकका दुवै पार्टीले एक एक नगरपालिकामा नेतृत्व गर्ने सहमति भएपनि दुबैले गोरखा नगरपालिकाको नेतृत्वमा दावी गरेपछि नामको टुंगो लाग्न नसकेको हो । ‘गोरखा नगरपालिकामा साविकको दुबै पार्टीको दावी रह्यो । अरु त्यस्तो ठूलो विवाद छैन, हामीले सहमतिमै नगरपालिकाको टुंगो लगाउने जिम्मा प्रदेश कमिटिलाई दिने निर्णय गरेका छौं’, नेकपा अध्यक्ष थापामगरले भने ।
पदाधिकारीको नाम सिफारिस गर्न नसकेपनि दुबै नगर कमिटिका ८१ सदस्यको नाम भने सिफारिस गरिएको नेकपा गोरखाले जनाएको छ । प्रदेश कमिटिले केही दिनमै जिल्लाबाट सिफारिस गरिएका पदाधिकारी र सदस्यको नाम अनुमोदन गर्ने नेकपा गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले बताए ।




