| आइतवार, कार्तिक २९, २०८३

गोरखा दरवार पुननिर्माणको एक वर्षः २० प्रतिशत मात्रै काम सकियो

किरण लोहनी ः भूकम्पले क्षति पु¥याएको गोरखा दरवारको पुननिर्माण शुरु भएको शनिवार एक वर्ष पूरा भएको छ । गत वर्षको बैशाख ७ गते विधिपूर्वक जग पूजा गरि पुननिर्माणको काम औपचारिक रुपमा शुरु भएको थियो । तर एक वर्षको अवधीमा पुननिर्माणको करीव २० प्रतिशत मात्रै काम सकिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । ‘एक वर्ष भैसक्यो, अहिलेसम्म जगको काम मात्रै सकिएको छ, काम निकै सुस्त छ’ हेरचाह अड्डाका नायव सुब्बा रामेश्वर कट्टेलले भने, ‘ठेकेदार पनि बेला बेला मात्रै झुल्किन्छन्, यसो काम शुरु भए जस्तो हुन्छ, फेरि रोकिन्छ ।’ यो पटक पनि झण्डै डेढ महिनादेखि काम ठप्प छ । ‘दुई चार दिन पहिले जगको पिसिसि गर्ने काम भएको छ, अब दश÷पन्ध्र दिन त्यसलाई सुक्न दिनुपर्छ भनेका छन्’ कट्टेल भन्छन्, ‘आउँदो कात्तिकमा निर्माण सकिनु पर्ने सम्झौता छ, यही गतिले त म्यादभित्रै काम पूरा हुनैसक्दैन ।’
पछिल्लो पटक भने ठेकेदारले आवश्यक निर्माण सामग्री समयमै जुटाउन नसक्दा पुननिर्माणको काम ठप्प भएको हो । ‘जगको काम सकिएपछि अब काठको काम शुरु हुनुपर्ने तर तर पहिलो तल्लाका लागि आवश्यक पर्ने काठ ठेकेदारले समयमै जुटाउन सकेनन्’ उनले भने, ‘पहिलो तल्लाको ढोका, थाम, लकासी लगायत कामका लागि तत्काल २ शय क्युविक फिट काठ आवश्यक पर्छ, ठेकेदार काठको खोजीमा लागेका छन् भन्ने बुझेको छु, तर कार्यस्थलमा काठ आइपुगेको छैन।’ जगको काम शुरु हुँदैमा काठको बन्दोबस्त गर्नुपर्नेमा ठेकेदारले ढिलाई गर्दा काम रोकिएको कट्टेलको भनाई छ । यसअघि पनि पुननिर्माणको काम पटक पटक रोकिने गरेको थियो । लामै समय पुननिर्माणको काम रोकिएपछि हेरचाह अड्डाले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको छ ।
‘अत्तिनै सुस्त काम भएपछि कार्यालय प्रमुखहरुको पछिल्लो बैठकमा मैले यसबारे कुरा उठाएँ’ हेरचाह अड्डाका निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कट्टेलले भने, ‘बैठकले सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’ बैठकमा गोरखा दरवार पुननिर्माणमा भएको सुस्तताबारे गम्भिर छलफल भएको प्रजिअ गजेन्द्र श्रेष्ठले बताए । ‘सुस्त मात्रै होइन, पुननिर्माणको काम महासुस्त छ, बेला बेला दरवार जाँदा एकजना पनि प्राविधिक देखिन्नन्’ उनले भने, ‘कार्यालय प्रमुखको बैठकको निर्णय सहित हेरचाह अड्डाले पुरातत्व विभागमा पत्राचार गर्छ, प्रशासनका तर्फबाट हामी पनि विभागको ध्यानाकर्षण गराउँछौं ।’ देशको ऐतिहासिक धरोहरको पुननिर्माण अलपत्र पर्दा राम्रो सन्देश नजाने भएकाले सबै मिलेर पुननिर्माणको अवरोध हटाउनु पर्नेमा प्रजिअ श्रेष्ठको जोड छ ।
२०७२ सालको भूकम्पले क्षति पु¥याएको गोरखा दरवार पुननिर्माणका लागि २०७४ सालको कात्तिकमा पचली सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार आउँदो वर्षको मंसीर मसान्तसम्ममा दरवार पुननिर्माणको काम सकिनु पर्ने हुन्छ । तर हालसम्म करीव २० प्रतिशत मात्रै काम सकिएको छ । पुननिर्माणका लागि ऐतिहासिक दरवार जगैसम्म भत्काइएको छ । पुननिर्माणका लागि ठेकेदार कम्पनीसँग ४ करोड ३७ लाख रुपैयामा ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता अनुसार काम शुरु भएको साढे दुई वर्षमा पुननिर्माण सकिसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्