
अन्जु कुमालको विना शर्त सिघ्र रिहाई गर्न विप्लव’ पार्टीको माग, बैशाख ५ गते नेपाल बन्द घोषणा
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोरखाले आफ्नो पार्टीकी नेतृ अन्जु कुमालको विना शर्त सिघ्र रिहाई गर्न माग गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज गोविन्द र सेक्रेटरी प्रतिकले बुधबार विज्ञप्ती जारी गर्दै बैशाख २ गते गोरखा नगरपालिका ८ को आयुर्वेद चोकबाट पक्राउ परेकी कुमालको विना शर्त रिहाई गर्न माग गरेका हुन् ।

पक्राउ परेकी कुमाल विप्लव नेतृत्व पार्टीको अखिल नेपाल महिला संघ गण्डक ब्युरो संयोजक एवं सहिद परिवार समाजकी केन्द्रिय सदस्य हुन् ।
संविधानले तर्जुमा गरेको मुल्य मान्यताको खिल्ली उडाउँदै आफ्नो पार्टी विरुद्ध सरकारले प्रतिबन्ध घोषणा गरि पार्टीको नेता, कार्यकर्ता र शुभचिन्तकलाई विभिन्न बहानामा दमन, धरपकड र गिरफ्तार गरी झुटा मुद्धा लगाउने गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा विभिन्न दबाब र प्रलोभनमा पारेर आफ्ना पार्टीका नेता कार्यकर्तालाई नेकपा प्रबेश गराउने गरिएको पनि आरोप लगाईएको छ । सरकारको कार्यशैली विरुद्ध बैशाख ५ गते विहिबार नेपाल बन्द घोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सरकारले यस्ता हर्कतहरु अविलम्ब नसच्याए संघर्षका कार्यक्रम गर्ने सो पार्टीले चेतावनी दिएको छ ।





