
गोरखाका निमा लामालाई जनसेवा श्री विभूषण
गोरखाका निमा लामालाई जनसेवा श्री विभुषणद्वारा विभूषित गरिएको छ । संविधान दिवसको दिनमा घोषणा गरिएको सो विभूषण नयाँबर्षको दिन बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन सितल निवासमा आयोजित एक समारोहमा प्रदान गरेकी हुन् ।
चुमनुब्री गाउँपालिका ७ छेकम्पार, निले स्थायी घर भएका लामाले बिगत लामो समयदेखि बिभिन्न स्थानमा रहेर समाजसेवा गरेकाले विभूषित गरिएको उनलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख गरिएको छ । लामा चुमकल्याण समितिका अध्यक्ष हुन् ।
‘नेपाल राष्ट्रको गौरव तथा नेपाली जनताको हित अभिवृद्धिका लागि तपाइँबाट भएको योगदानको सम्मानस्वरुप जनसेवाश्री विभूषणद्वारा विभूषित गरिएको छ’, प्रमाणपत्रमा भनिएको छ ।

५५ बर्षका लामा साबिक छेकम्पार गाविसका अध्यक्ष तथा साबिक जिल्ला विकास समितिका सदस्य रहेर सामाजिक काम गरेका थिए । त्यस्तै २०६३ सालदेखि अहिलेसम्म चुमकल्याण समितिको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् । उनी स्यार समाज कल्याण केन्द्रको अध्यक्ष, हिमाली समुदाय जलवायु मैत्री संगठनका उपाध्यक्ष पनि हुन् भने कम्युनिटी एक्सन नेपाल(क्यान)का उपाध्यक्ष पनि हुन् ।
पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीले उनलाई पर्यटन विज्ञ घोषणा गरेका थिए । त्यस्तै उनी प्रधानमन्त्री अध्यक्ष रहेको आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सञ्चालक परिषदका सदस्य र चुम स्याक्या संरक्षण समितिका संरक्षकको रुपमा रहेर काम गर्दै आएका छन् ।




