
बारपाकका बिस्थापित १४ घरधुरीलाई लालपूर्जा प्रदान
पहिरोको जोखिममा रहेका बारपाक सुलिकोट गाउँपालिकाको वडा नं १ र २ बारपाकका १४ घरधुरी भुकम्पपिडीतलाई घडेरी को लालपुर्जा वितरण गरिएको छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पहिरोले उच्च जोखिममा परेको बारपाकको जोङगङ, स्नान, दुम्सीकुँवा र कोजेका १४ घरलाई स्थानान्तरणका लागि विहिबार लालपुर्जा वितरण गरिएको हो । बारपाक गाउँमा आयोजित कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई ( अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार) का प्रमुख राम शरण आचार्यले लालपुर्जा वितरण गरेका हुन् । सुरक्षीत जग्गाको अभावमा घर बनाउन नपाएका भुकम्पपिडीतको रोजाईका आधारमा वडा कार्यालयले जग्गा प्राप्तीका लागि समन्वय गरेको हो ।
उनिहरुलाई बारपाक गाउँ सहित कोजेको अल्गौ, स्नानको सुरक्षीत ठाउँमा स्थानान्तरण गरि लालपुर्जा वितरण गरिएको वडा नं १ का अध्यक्ष रोशन विकले जानकारी दिए । ‘अहिलेसम्म आफन्तको जग्गामा भाडामा बसेका थिए’ उनले भने ‘जग्गाको बन्दोबस्त भएसँगै अब उनिहरुले घर बनाउन थाल्ने भएका छन् ।’ अब बारपाकका ४१ घरधुरीलाई लालपुर्जा वितरण गर्न बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार)ले जनाएको छ ।
बाँकी घरधुरीलाई पनि जग्गाको खोजि गरेर लालपुर्जा वितरण गरिने इकाईका प्रमुख आचार्यले बताए । ‘जग्गा पास गर्न समस्या हुँदा पनि लालपुर्जा वितरण प्रभावित भएको छ’ उनले भने ‘भुकम्प पिडीतले घर बनाउन किन्ने जग्गाका धनीहरु विदेश छन्, उनिहरुको वारेसनामा जुटाउन नसक्दा पनि लालपुर्जा दिन सकिएन, धेरैजसोले जग्गा हेरीसक्नुभएको छ, तर पास गर्न नसक्दा घर बनाउन सक्नुभएको छैन ।’
लालपुर्जा पाएकाहरुले तिन महिनाभित्र घर निर्माण थाल्नुपर्ने उनको भनाई छ । बारपाक सुलिकोट वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । अहिले लालपुर्जा पाएकाहरुले जग्गा खरिदका लागि सरकारबाट दुई लाख रुपैयाँ पाँउछन् ।
उनिहरुले घर निर्माणका लागि तिन लाख रुपैयाँ अनुदान पनि पाउनेछन् । भुकम्पपछिको पहिरोले गोरखाका २२ भन्दा बढि बस्ती जोखिममा रहेपनि सरकारी पहलबाट हालसम्म मुच्चोकमा २१ , केरौजा मा एक सय ९५ र बारपाकमा १४ घरधुरीलाई मात्रै लालपुर्जा वितरण भएको हो ।
लेखन ः अनुपमा खनाल




