| आइतवार, कार्तिक २९, २०८३

नाम मात्रको इलाका प्रशासन कार्यालय, दुर्गमका बासिन्दालाई सास्ती उस्तै

गोरखाको फिलिममा स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही सेवाबाट बञ्चित छन् । कार्यालयमा कर्मचारी अभावका कारण चुमनुब्री गाउँपालिकाका सेवाग्राही नागरिकता प्रमाणपत्र, राहदानी सिफारिसलगायतका सेवा लिनका लागि सातदिनको बाटो पैदल हिडेर सदरमुकाम पुग्न बाध्य छन् ।
जिल्लाको दुई तिहाइ भूगोल दुर्गममा रहेकाले दुर्गमबासीलाई सेवा दिने उद्देश्यले २०६९ सालमा एकीकृत सेवा केन्द्र अन्तर्गत इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय स्थापना गरिएको थियो । तर दरबन्दीअनुसारका कर्मचारी कार्यालयमा नहुँदा सेवा प्रवाह नभएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ बताउँछिन् । ‘इलाका प्रशासन कार्यालयमा एकजना नासु सर हुनुहुन्छ अरु कोही छैनन्’, उनले भनिन्, ‘मालपोत र नापी कार्यालयमा त झन् कहिल्यै कर्मचारी हुदैनन् । पियनले खोलेर राख्छन् ।’ पशु कार्यालय पनि पियनकै भरमा चलेको उनले बताइन् ।
इलाका प्रशासन कार्यालयमा सातजनाको दरबन्दी छ तर अहिले नायव सुब्बा रामप्रसाद शर्मा र दुई जना कार्यालय सहयोगी मात्र हाजिरमा छन् ।
‘एकजना अधिकृत, दुईजना नायव सुब्बा, सहलेखापाल, सहायक कम्प्यूटर अपरेटर, दुईजना कार्यालय सहयोगीको दरबन्दी हो’, कार्यालयमा रहेका नासु शर्माले भने, ‘तर अहिले म र दुई जना कार्यालय सहयोगी मात्र छौं ।’ अधिकृत नहुँदा नागरिकताको सनाखत गर्ने र प्रतिलिपि सिफारिस गर्ने काम मात्र हुने उनले बताए । ‘अधिकृत पद खालि भएको १३ महिना भयो । अब कर्मचारी समायोजनको बेला छ, कोही आउनुहुन्छ कि ?’ उनले भने ।
मालपोत कार्यालयमा पाँच जनाको दरबन्दी छ तर अहिले कोही नभएको कार्यालय सहयोगी पार्वती गुरुङ बताउँछिन् ।
‘एक जना जिल्लाको मालपोतमा कम्प्यूटर शाखामा हुनुहुन्छ भन्ने सुनेको छु’, उनले भनिन्, ‘एक जना सर श्रीमती सुत्केरी भएर विदामा हुनुहुन्छ । अरु दुई जना राजस्व बुझाउन भनेर जानु भएको हो । आउनु भएको छैन ।’
पाँचजनाको दरबन्दी रहेको नापी कार्यालयमा कोही नभएको कार्यालयका सहयोगी राजकुमार गुरुङले बताएका छन् । आफू पनि काम विशेषले सदरमुकाम झरेको उनले टेलिफोनमा बताए ।
इलाका प्रशासन कार्यालयमा नागरिकता बनाइदिने कर्मचारी नहुँदा ज्येष्ठ नागरिक भत्ता लिनबाट बञ्चित भएको चुमनुब्री गाउँपालिका वडा नं. ५ का अध्यक्ष सोनाम ग्याल्जेनले बताए । ‘फिलिमको इलाका प्रशासन कार्यालयमा हाकिम छैन, गोरखाबजार जान नसक्ने बुढाबुढीको नागरिकता बनाउन सकेको छैन’, उनले भने, ‘हाम्रो वडाका धेरै जना बुढाबुढीले नागरिकता नभएकाले वृद्धभत्ता पाएका छैनन् ।’
सातवटा वडा रहेको चुमनुब्री गाउँपालिकामा अहिले वडाअध्यक्ष पनि जम्मा तीनजना मात्र छन् । प्रमुख प्रशासकीय अधिकृत पनि नभएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ बताउँछिन् ।
‘प्रमुख प्रशासकीय अधिकृतको काम पनि वडा सचिवले गर्नु परेको छ’, उनले भनिन्, ‘एउटा सचिवले तीनवटा वडाको काम गर्नुपरेको छ । त्यही सचिव पनि सदरमुकामतिरै हुन्छन् । यहाँ कार्यालयमा आएका सेवाग्राहीसंग समन्वय गर्ने पनि आफू एक्लै, लेख्ने काम पनि आफैले गर्नुपरेको छ । धेरै गाह्रो छ ।’
सदरमुकामबाट ३० देखि ५५ कोश टाढा रहेका साबिकका सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, केरौंजा र उहिया गाविसका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले एकीकृत सेवाकेन्द्र तथा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्