| आइतवार, कार्तिक २९, २०८३

दरौंदी विरीमकाली पम्पिङ खानेपानी आयोजनाको डिपिआर अन्तिम चरणमा

गोरखा नगरपालिकाको दरौंदी विरीमकाली पम्पिङ खानेपानी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । गोरखा नगरपालिका वडा नं १०, ११ र १२ का बासीन्दाको घर घरमा पानी पु¥याउने लक्ष्यका साथ बन्न लागेको आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको संघिय खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय लमजुङका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिए । ‘ड्राफ्ट तयार भैसक्यो’ उनले भने ‘सरोकारवाला सबैसँग ड्राफ्टका विषयमा छलफल गरेर अन्तिम रुप दिन्छौ, एक सातामा डिपिआर तयार हुन्छ ।’

सो आयोजनाको तिनबर्षअघि सर्वेक्षण गरेर लागत स्मटेट सहित एक करोड २० लाख रुपैयाँको लागतमा तिनवटा टयांकी निर्माण भैसकेको थियो । तर तत्कालीन स्रोतबाट स्थानिय सबैलाई पानी पु¥याउन नसक्ने भएकाले डिजाईन परिमार्जित गर्न खानेपानी विभागसँग  अनुमति लिएर नयाँ डिपिआर बनाएको कार्यालय प्रमुख काफ्लेले बताए । ‘पहिलेको डिजाईनमा दरौदीबाट डिप बोरीङमार्फत  पानी ल्याउने उल्लेख थियो’ उनले भने ‘यो पहाडी भेगमा डिप बोरीङ उपयुक्त छैन, प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने अपेक्षा गरिएपनि त्यसो भएन । त्यसैले स्थानियको माग अनुसार पानी पु¥याउन नयाँ डिजाईन बनाएका हौं ।’

आयोजना निर्माण सम्पन्न गर्न करीब ४० देखि ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसका लागि स्थानिय उपभोक्ताले २० प्रतिशत लागत ब्यहोर्नुपर्ने कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । ‘उपभोक्ताले कुल लागतको एक प्रतिशत रकम नै दिनुपर्छ’ उनले भने ‘१९ प्रतिशत रकम बराबरको जनश्रमदान गर्नुपर्छ ।’ मन्त्रालयबाट बहुबर्षिय खरिद गुरुयोजना स्विकृत गराएर आयोजना निर्माण गर्ने उनको भनाई छ ।

चालु आर्थिक बर्षभित्र नै आयोजनाको ठेक्का लगाउने कार्यालयले जनाएको छ । ठेक्का लगाएको मितिले २४ देखि ३० महिनाभित्र उपभोक्ताको घर घरमा धारा पु¥याउने लक्ष्य रहेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए ।

आयोजना अन्तरगत दुई लाखदेखि ४ लाख लिटरसम्म क्षमता भएका ६ वटा पानी टयांकी निर्माण हुनेछन् । डिपिआरको मस्यौदा अनुसार दरौंदीमा ठुलो इनार बनाएर पम्पिङ गरि तानेको पानी बगैचामा रहेको टंयाकीमा संकलन गरिनेछ । संकलित पानी सोही ठाउँमा बनाईने प्रसोधनकेन्द्रमा शुद्ध पारेर लिफ्टिङ गरी विरीमकालीको टयांकी मार्फत उपभोक्ताको घर घरमा वितरण गरिनेछ ।

आयोजना अन्तरगत ७२ किलोमिटर पाईप विच्छाईने भएको छ । २० बर्षपछिको अबस्थामा बढ्न सक्ने जनघनत्वको अनुमान गर्दै २८ हजार जनसख्यांलाई पानीको माग पुर्ति गर्न सक्ने गरि डिपिआर तयार गरिएको उनको भनाई छ । आयोजनाबाट गोरखा नगरपालिका वडा नं ११का सबै, वडा नं १२ का शिखरडाँडा, जोगीगाँउ, वडा नं १० को विरिन्चोक, डुडेगैह्रा, चैनपुर लगायतका ठाउँमा पानी उपलब्ध गराईने उपभोक्ता समितिका अध्यक्ष राजकुमार कोईरालाले बताए ।

सो ठाउँका बासीन्दा हाल ढुंगेधारा लगायत प्राकृतिक स्रोतको पानी प्रयोग गर्दै आएका छन् । खडेरीमा मुहान पनि सुक्ने भएकाले खानेपानीको निकै समस्या पर्ने गोरखा नगरपालिका १० बरथोककी करुणा रानाले बताईन् । ‘अहिले डोकोमा बोकेर पानी लैजानुपर्छ’ उनले भनिन् ‘जलदेवि मुहानको पानी खान्छौ, घरबाट धारामा पुग्न २० मिनेट लाग्छ । लाईन बस्नुपर्छ । बर्षामा धमिलो, खडेरीमा मुल सुक्ने, पानी खानै समस्या छ ।’ आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न गर्न  वडा कार्यालयले आबश्यक  निगरानी र अनुगमन गर्ने गोरखा नगरपालिका ११ का वडाअध्यक्ष रामबहादुर खडकाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्