
जातीय पहिचानमा समस्या, जागिरको बाध्यताले थर मास्दै बराम समुदाय
भीमसेन थापा गाउँपालिका १ काहिँलागाउँका कल्याण थापा मगर स्थानीय विन्द्रावती माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्छन् । उनी बरामका सन्तान हुन् । हजुरबुबा, हजुरआमा र तीभन्दा माथिका सबैको थर बराम भएपनि उनका बुबा प्रकासले विद्यालयमा भर्ना गराउँदैमा उनको थर परिवर्तन गरेर कल्याण थापा मगर बनाइदिए । अब एसईईको प्रमाणपत्रमा उनको थर थापा मगर नै कायम हुने छ र सोही आधारमा नागरिकता प्रमाणपत्रमा पनि उनको थर थापा मगर नै हुनेछ ।
उनले मात्र होइन, गैराथोकका गोविन्द बरामले पनि थर परिवर्तन गरी थापा मगर बनाएपछि मात्र प्रहरी सेवामा प्रवेश पाए । नागरिकता, लालपूर्जा सबैमा उनले बास्तविक थर मेटेर थापा मगर बनाएका छन् । २०३६ सालमा प्रहरी सेवामा भर्ना भएका उनी २० बर्ष सेवा गरेपछि २०५६ सालमा पेन्सनमा निस्किए । अनि मात्र उनले जिल्ला प्रशासन कार्यालयबाट गोविन्द्र बराम र गोविन्द थापा मगर भन्ने व्यक्ति एउटै हो भन्ने ब्यहोराको कागज बनाएर काम चलाइरहेका छन् । जागिरको प्रलोभनले बराम समुदायमा उनीहरु जस्तै बास्तविक थर परिवर्तन गर्नेको संख्या धेरै छ । ‘बराम भनेर गोरखामा त चिन्छन्, तर गोरखा कटेर गएपछि कसैले पनि चिन्दैनन्’, स्थानीय गोविन्द बराम भन्छन्, ‘कोही बराल होला भन्छन्, कोही क्यै भन्छन् । त्यसैले धमाधम थर परिवर्तन गरेर कसैले थापा मगर, कसैले पुलामी मगर, कसैले गुरुङ बनाएका छन् ।’ विशेष गरी नेपाली सेना, नेपाल प्रहरी, भारतीय सेना लगायतका सरकारी सेवामा भर्ना हुन जानेले थर परिवर्तन गरेको उनले बताए । पेन्सनमा निस्किएपछि भने कसैले थापा भनेको र बराम भनेको एउटै व्यक्ति हो भनेर प्रमाणपत्र बनाउने गरेको उनले बताए । तर कतिपयले भने थापा वा पुलामी मगरलाई नै निरन्तरता दिँदा बरामको अस्तित्व मासिँदै जान थालेको अर्की स्थानीय तिलकुमारी बराम बताउँछिन् । ‘कसैले जागिरपछि पुरानै थर बनाएका छन्, कसैले बनाएका छैनन्’, उनले भनिन्, ‘कसैलेचाहिँ दुईवटै थर लेख्छन् ।’ दुईवटा थर बनाउँदा धेरै झण्झट बेहोर्नु परेको उनको भनाइ छ । ‘यो थरको अलमलले गर्दा हाम्रो समुदायले धेरै दुख पाएका छन्’, उनले भनिन्, ‘हाम्रो पनि श्रीमानले थर फेरौं भन्नुभएको थियो, तर पछि छोराछोरीलाई दुख हुन्छ भनेर मैले मानिन ।’

अति सीमान्तकृत समुदायमा सूचीकृत भएका बराम समुदायको उद्गम थलो गोरखाको मसेल, ताकु, पन्द्रुङ, आरुपोखरी, थुमी तथा आसपासको क्षेत्र मानिन्छ । उनीहरु पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा धादिङको नलाङ, खाल्टे, नुवाँकोट, ललितपुरको ठूला दुर्लुङ र गिम्दी, मकवान पुरको फापरबारी, चितवन लगायतका क्षेत्रमा फैलिए का छन् । तथ्याङ्क विभागको २०६८ सालको जनगणनाअनुसार बरामको जनसंख्या आठहजार एकसय ४० रहेको नेपाल बराम संघका केन्द्रीय उपाध्यक्ष किरण बराम बताउँछन् । पहिचानको समस्याले गर्दा बराम समुदाय लोप हुने अबस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे । आरुआर्बाङको ओयाक गाउँका सबै बरामले थर फेरेर गुरुङ र मसेलको काहिला गाउँका सबै बरामले मगर बनाएका उनले बताए । ‘सरकारले पहिचान नदिएका कारण धेरै बरामले आफूलाई मगर वा गुरुङ बनाउन बाध्य भए’, उनले भने, ‘२०५९ सालमा आदिवासी जनजातिको सूचीकरणमा ३१ औं नंबरमा बरामलाई पनि सूचीकरण गरेपछि बल्ल केही हदसम्म थर परिवर्तन गर्ने क्रम रोकिएको छ ।’




