| आइतवार, कार्तिक २९, २०८३

भूम्लीचोकको तोमनडाँडामा चेपाङ संग्रहालय बनाईने

किरण लोहनी

 

गोरखाको गण्डकी गाउँपालिका ६ तोमनडाँडामा चेपाङ संग्रहालय स्थापना गरिने भएको छ । संग्रहालय स्थापनाका लागि प्रारम्भिक तयारी थालिएको नेपाल चेपाङ संघ गोरखाका अध्यक्ष कृष्ण चेपाङले बताए । ‘तोमनडाँडामा चेपाङ संघको नाममा ३ रोपनी जग्गा छ, त्यहीँ संग्रहालय बनाउने योजना छ’ उनले भने, ‘तोमनडाँडा आधारभूत विद्यालय नजिकै चेपाङ छात्रावास पनि बनिरहेको छ, त्यसकै आसपास संग्रहालय बनाउँछौं ।’
संग्रहालय स्थापनाका लागि गण्डकी गाउँपालिकाले चालु आर्थिक वर्ष ५ लाख रुपैया वजेट विनियोजन गरेको छ । थप रकम कसरी जुटाउने भन्नेबारे चेपाङ समुदायको बाक्लो बसोबास रहेको क्षेत्रका जनप्रतिनिधिसँग छलफल थालिएको उनले जानकारी दिए ।

गण्डकी गाउँपालिकाकै पहिचानका रुपमा संग्रहालय बनाईने, चेपाङ समुदायका

सांस्कृतिक पहिचान झल्कने सामाग्री राखिने

सो क्रममा गण्डकी गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरुसँग छलफल गरिएको उनले बताए । गण्डकी गाउँपालिकाको वडा नम्वर १, २, ६ र ७ मा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । नेपालभर करीव ६८ हजार चेपाङ जनसंख्यामध्ये गोरखामा ३२ शय भन्दा बढीको बसोबास रहेको चेपाङ संघका जिल्ला अध्यक्ष कृष्ण चेपाङले जानकारी दिए । ति समुदायको साँस्कृतिक पहिचान झल्कने सामग्री संगंहालयमा राखिने उनको भनाई छ । ‘समय परिवशेले कोल्टे फेरे अनुसार हाम्रो समुदायको जीवनशैली पनि फेरियो, पश्चिमी संस्कृतिको प्रभाव चेपाङ समुदायमा पनि छ’ चेपाङ संग्रहालय स्थापनाको उदेश्यबारे उनले भने, ‘पुराना भेषभुषा लोप भएका छन्, साँस्कृतिक, सामाजिक र आर्थिक हिसावले चेपाङ समुदायको अस्तित्व रक्षाका लागि पनि संग्रहालय जरुरी रहेको छ ।’


समयक्रमसँगै चेपाङ समुदायको पनि जीवनशैली फेरिएको भन्दै उनले संग्रहालय घुम्ने सबैले लोपोन्मुख सामग्री अवलोकन गर्न सक्ने बताए । ‘चेपाङहरुको पहिचान झल्कने सबै सामग्री राख्छौं, त्यहाँ पुग्दा चेपाङको फिगर आओस् ।’ उनले भने, ‘अरु समुदायको तुलनामा हामी धेरै पछि छौं, जंगली युगदेखि आएका हौं, सम्भव भएसम्म त्यतिबेलादेखिकै सामग्री जुटाउने प्रयास गर्छौं ।’ संग्रहालय गण्डकी गाउँपालिकाकै पहिचान बन्ने भएकाले पालीकाको अध्यक्षसँग बसेर थप छलफल गरि संग्रहालय स्थापनाको थप काम अघि बढाउने अध्यक्ष चेपाङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्