| आइतवार, कार्तिक २९, २०८३

बारपाकको भीसी संग्रहालयमा गजे घलेको सालिक स्थापना

अनुपमा खनाल :

 

बारपाकको भीसी संग्रहालयमा महावीर चक्र(भिसी पदक) पाउन सफल गजे घलेको सालिक स्थापना गरिएको छ । स्थानीय दिदी बहिनी को सँस्था एडभेन्चर ग्रामीण विकास(सेभेन सिस्टर्स)ले सञ्चालन गरेको बारपाक सामुदायिक भिसी संग्रहालयमा हालै दोस्रो विश्वयुद्धमा विरता प्रदर्शन गरेका भिसी घलेको सालिक स्थापना गरिएको सेभेन सिस्टर्सकी अध्यक्ष दलकुमारी घलेले जानकारी दिइन् ।
२०७१ सालमा अस्थायी रुपमा ग्रेट हिमालयन टूेलको सहयोगमा स्थापना गरेको संग्रहालय भूकम्पले नष्ट गरेपछि गत वैशाखदेखि पुनसञ्चालनमा आएको थियो । पर्यटन मन्त्रालय र पुरातत्व विभाग को ४३ लाख रुपैयाको आर्थिक सहयोगमा संग्रहालय सञ्चालनमा ल्याएको सेभेन सिस्टरकी अध्यक्ष घलेले बताईन् ।
‘७१ सालमा नै ग्रेट हिमालयन टेलको सहयोगमा अस्थायी रुपमा संग्रहालय स्थापना गरिएको थियो । चार बर्षअघिको भुकम्पले भवन र त्यहाँ राखिएका सामाग्रीमा पनि क्षति पुग्यो’, अध्यक्ष घलेले भनिन्, ‘संकलन गर्न सक्ने जति सामान जुटाएर स्थायी रुपमा नै भवन निर्माण गरी संग्रहालय पुन सञ्चालन गरेका हौँ ।’ संग्रहालयमा भिसी गजे घलेको सम्मान पत्र, कपडा र उनले प्रयोग गरेका केहि हतियार राखिएको छ । साथै बारपाकका बासिन्दाले दैनिक जीवनमा प्रयोग गर्ने गरेका डोको, खल लगायतका मौलिक सामग्री, पुराना बाजा, गाउँमा हुने सांस्कृतिक कार्यक्रममा झाँक्रीले प्रयोग गर्ने सामान राखिएका छन् । बारपाकमा स्थानीय गुरुङ र घले समुदायको परम्परागत चुल्हो र भेषभुषा तथा रहनसहन झल्कने डमी पनि प्रदर्शनीमा छ ।
बारपाक होमस्टे ब्यबस्थापन समितिकी संयोजक मनोज घलेले भनिन् ‘भुकम्प पहिले यहाँ ढुंगा माटोको घर थियो । ती घरको पहिलो तलामा चुल्हो हुन्थ्यो । तर अहिले गाउँमा धमाधम आरसिसी घर बनेका छन् । परम्परागत भान्साकोठा र चुल्हो लोप हुँदै गए । यसैले पहिले यस्तो थियो भनेर देखाउन पनि पुरानो भान्साको संरचना नमुनाका रुपमा देखाईएको छ ।’ संग्रहालयमा भुकम्प अघि र भुकम्पपछि बारपाकमा आएको परिवर्तनलाई पनि ग्यालरीमा तस्वीरहरु राखिएका छन् ।
पहिलेको परम्परागत ग्रामीण बस्ती अहिले बारपाकमा देख्न नपाइए पनि फोटोमा भने पर्यटकले हेर्न सक्नेछन् । पुराना पुस्ताको रहनसहन र उनीहरुले प्रयोग गरेका सामाग्री पछिल्लो समय लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि पनि संग्रहालयले सघाएको स्थानिय खेमराज घलेले बताए । उनले भने ‘बाजेको पालाका रहनसहन, भेषभुषा नातिनातिनाले थाहा पाउन सजिलो भएको छ ।’ सग्रहालयमा लोप हुन लागेका अरु सामाग्री स्थानिय स्तरमा संकलन गरेर थप्ने तयारी रहेको सेभेन सिस्टरले जनाएको छ ।
अध्यक्ष घलेले भनिन्, ‘पहिले पहिले बाजेहरुले भीरमौरीको मह काढ्ने चलन थियो । त्यो अहिले लोप हुदै गएको छ । त्यो झल्काउने सामाग्री पनि राख्ने तयारी छ ।’ संग्रहालय प्रबेशका लागि शुल्क लाग्नेछ । नेपालीका लागि ३०, विदेशीका लागि ५० र विद्यार्थीका लागि १५ रुपैया शुल्क निर्धारण गरिएको छ । मंगलबार र सार्वजनिक विदाको दिन संग्रहालय बन्द रहनेछ । गोरखा भुकम्पको केन्द्रविन्दु, दोस्रो विश्वयुद्ध लडेर भिक्टोरिया क्रस पाएका गजे घलेको जन्मथलो, एकैठाउँमा गुजुमुज्ज रहेका घले र गुरुङ समुदायको बाक्लो बस्ती लगायतका कारण पर्यटकको आकर्षणको केन्द्र बनेको छ बारपाक । त्यसैले विद्यार्थीहरु अध्ययन अबलोकन गर्न र विभीन्न आमा समुह, युवा समुह लगायत संघसँस्था पनि बारपाक घुम्न जाने क्रम बढेको छ । विदेशी पर्यटकहरु पनि गाउले रहनसहन बुझ्न र प्राकृतिक सुन्दरता अबलोकन गर्न बारपाक पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्