| आइतवार, कार्तिक २९, २०८३

गोरखा दरबारका लागि रु पाँच करोड ३० लाख बिनियोजन

भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबार पुनर्निर्माण गर्न बजेट बिनियोजन भएको छ । चालु आर्थिक बर्षका लागि पाँच करोड रुपियाँ बिनियोजन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।
गोरखा दरबार पुनर्निर्माणको काम सुरु भएपनि लामो समयदेखि निर्माणको काम रोकिएको थियो ।
सो सम्पदाको थप अध्ययन का लागि २० लाख रुपियाँ बिनि योजन गरिएको प्याकुरेलले जानकारी दिए ।
गोरखा दरबार लगायत देशभरका छवटा सम्पदा बस्ती अध्ययन का लागि कूल १ करोड २० लाख बिनियोजन गरिएको उनले बताए । साथै छवटा सम्पदा पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ ।
काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा बस्ती अध्ययनका लागि प्रत्येक बस्तीका लागि २० लाखका दरले तथा पुनर्निर्माणका लागि यस आर्थिक वर्ष्भित्र प्रत्येक बस्तीका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएको हो ।
काठमाडौं उपत्यकाभित्रका खोकना (ललितपुर), बुङमती (ललितपुर) र साँखु (काठमाडौं) का परम्परा गत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको हो । आयोजना निर्देशक प्याकुरेलका अनुसार उपत्यकाबाहिर नुवाकोटको सात तले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएका छन् ।
‘यी सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनर्निर्माणमा बजेट खर्च हुनेछ ।
यसबाट हाम्रा मौलिक सम्पदाको संरक्षण मात्र हुने छैन आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ’, प्याकुरलेले भने । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरुको संरक्षण तथा विकास कार्यको अध्ययन तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ ।
यस कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चांगुनारायण मन्दिर क्षेत्र, स्वयम्भुनाथ क्षेत्र र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुनेछ । त्यसैगरी, उपत्यकाका तीन जिल्लाहरु भक्तपुर, ललितपुर र काठमाडौंका दरबार स्क्वायरहरुको संरक्षण र संबद्र्धन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्