
लापार्बाहीपूर्वक सडक खन्दा झोलुंगे पुल पुरियो, त्रिशुली तर्न समस्या
बिना साबधानी सडक खन्दा गण्डकी गाउँपालिका ६ हिक्लुङघाट र पृथ्वीराजमार्ग जोड्ने झोलुंगे पुल पुरिएको छ । बर्षौंदेखिको तुइन बिस्थापन गरी हालै निर्माण गरिएको झोलुंगे पुल जथाभावी डोजर चलाउँदा पुरिएको हो ।
पुल पुरिएपछि तीनदिनदेखि त्रिशुली वारपार गर्न स्थानीयबासीलाई सास्ती भएको छ ।
पुलमाथि माटो ढुंगा थुप्रिएर अवरोध भएपछि हिक्लुङ, थुम्का र लुप्राङका चेपाङ समुदायलाई आवतजावत गर्न समस्या भएको हो ।
वडा कार्यालयको बजेटबाट हिक्लुङघाट, थुम्का, बालाकी हुँदै लेकजाने बाटो निर्माण गर्न लागिएको वडा अध्यक्ष जीवन गुरुङले जानकारी दिए । ‘सडक खन्दाखन्दै डोजर बिग्रियो’, उनले भने, ‘डोजर अपरेटर पनि बिरामी भएकाले मर्मतसम्भारमा ढिला भयो । अब छिट्टै मर्मत हुनेछ । भोलिपर्सिदेखि नै माटो हटाएर पुल सञ्चालनमा आउनेछ ।’
आफूले उक्त माटो सफा गर्न आदेश दिइसकेको गाउँपालिका अध्यक्ष होबहादुर राना मगरले बताए । ’केही कमजोरीले त्यस्तो समस्या भएको हो’, उनले भने, ’मैले तुरुन्त सफा गर भनिसकेको छु, उनीहरूले सफा गर्दै होलान् ।’




