| आइतवार, कार्तिक २९, २०८३

भूकम्पको राहत चारबर्षदेखि झाडीमा अलपत्र

 

भूकम्पका बेला बिपदमा परेका पीडितलाई शुद्ध पानी खुवाउन यूएसएआइडीले पठाएको पानी शुद्ध बनाउने उपकरण(वाटर ट्रिटमेण्ट प्लाण्ट) वीरेन्चोकको एक झाडीमा अलपत्र परेको छ ।
नेपाल रेडक्रस सोसाइटीले जिल्ला शाखामार्फत पिडितका लागि पठाएको बहुमूल्य उपकरण चारबर्षदेखि गोरखा नगरपालिका ९ को बिरिम सांस्कृतिक उद्यानमा प्रयोगबिहिन भएर थन्किएको हो ।
कुनै उपकरणहरु सामुदायिक वन उपभोक्ता समूहको आँगनमा कुनै पिँडीमा, कुनै भवनभन्दा उत्तरतर्फको झाडीमा र कुनै दक्षिणतर्फको झाडीमा असरल्ल छाडिएको स्थानीयबासीले बताए । ‘चारबर्षदेखि यहीँ घामपानी खाएर अलपत्र परेको छ’, एक स्थानीयबासीले भने, ‘विपदका बेला विदेशी सहयोगदाताले पठाएका महंगो सामान बाँदरको हातमा नरिबल भएको छ ।’

‘विपदका बेला विदेशी सहयोगदाताले पठाएका महंगो सामान

बाँदरको हातमा नरिबल भएको छ ।’

ट्रिटमेण्ट प्लाण्ट जडान सम्बन्धी ज्ञान भएर त्यतिबेलादेखि नै त्यहीँ अलपत्र परेको रेडक्रस जिल्ला शाखाका तत्कालीन सभापति यदुबिलास भट्टराईले बताए । ‘धेरै महंगो र धेरै ठूलो उपकरण रहेछ’, भट्टराईले भने, ‘त्यो उपकरण जडान गर्ने तालिम नेपालमा नै जम्मा दुईजनाले लिएका रहेछन् । त्यो जनशक्ति हामीले पाउन सकेनौं । त्यसैले पनि त्यहीँ छाडिएको हो ।’


सो उपकरण गोरखा नगरपालिका ६ को हटियाथोकमा, वडा नं. ८ कट्टेलडाँडामा र आरुघाट गाउँपालिकाको आरुघाट बजारमा पनि लगिएको तर जडान गर्न नसकेर फिर्ता ल्याएर वीरेन्चोकमै केन्द्रित गरिएको रेडक्रस जिल्ला शाखाका सभापति भगवानवावु मास्केले बताए । ‘हामी प्रयोग गर्छौं भनेर हटियाथोकमा, कट्टेलडाँडामा र आरुघाटका बासिन्दाले पनि लगेका थिए’, उनले भने, ‘तर त्यो पूरै सेट होइन, रहेछ । कहीँ पनि जडान गर्न सकेनन् । बेकार हामीलाई लोडअनलोड गर्ने, ढुवानी खर्च मात्र भयो ।’ प्राविधिक ज्ञान नभएर उपकरण अलपत्र परेको भन्दै उनले केन्द्रले नै फिर्त लैजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्