
गोरखामा अबैध रुपमा तीनबर्षदेखि घर बनाउँदै रोहिंग्या शरणार्थी
गोरखा सदरमुकामबाट आठ किलोमिटर नजिकै कोखेआहालेको सानो बजार । गोरखा नगरपालिका २ मा पर्ने सो बजारको एकछेउमा प्रहरी चौकी कोखेको कार्यालय । चौकीकै आठमा जस्ताले छाएको, जस्ताले नै बारेको सानो टहरो । टहरोभित्र एक छेउमा ग्याँस सिलिण्डर । भुइँमा चुल्हो । अर्कोतिर लहरै ओछ्यान । जस्ताकै कच्ची ढोका ।

यही कच्ची टहरोमा चार जना रोहिंग्या शरणार्थी बिगत तीनबर्षदेखि अबैध रुपमा बस्दै आएका छन् । मुस्लिम बस्तीमा ठेक्का लिएर भूकम्पले भत्किएका घर पुननिर्माणको काम गर्दै आएका छन् ।
‘अहिले त हामी चार जना मात्र छौं’, उनीहरुमध्यका नाइके अब्बुल उस्मानले भने, ‘काम धेरै पाएको बेला १२, १५ जना पनि हुन्छौं । अहिले काम पनि सकिदै छ, त्यसैले चार जना मात्र बसेको ।’
अहिले २७ बर्षका अब्बुल उस्मान, २५ बर्षका मोहम्मद सिकन्दर, २८ बर्षका मोहम्मद सलिम र १९ बर्षका मोहम्मद थारुन कोखे आहालेमा छन् । मोहम्मद थारुन बाहेक सबै बिबाहित हुन् । अब्बुलबाहेक कसैले पनि नेपाली भाषा बुझ्दैनन् । पुराना पनि र भाषा पनि बुझ्ने भएकाले अब्बुल उस्मान घर निर्माणको ठेक्का लिन्छन् । आफू पनि काम गर्छन्, अरुलाई पनि अह्राउँछन् ।
रोहिंग्या शरणार्थीले भूकम्पपछि यहाँको मुस्लिम बस्तीका करिब २० घर बनाइसकेका स्थानीयबासी बताउँछन् । उनीहरु अहिले पनि गोरखा नगरपालिका ४, डेरागाउँका हासर्दिन मियाको घर बनाउँदैछन् । ‘आहाले, गाईखुर, डेरागाउँ र झिँगटेमा काम ग¥यौं’, अबुल उस्मान भन्छन्, ‘ठेक्का लिन्छौं । अनि काठमाडौं कपन क्याम्पबाट मान्छे बोलाउँछौं र काम गर्छौं । एक महिनामा एउटा घर तयार गरिदिन्छौं ।’ मुस्लिम बस्तीबाहेक कामका लागि अरु गाउँमा भने अहिलेसम्म नगएको उनीहरु बताउँछन् ।
भूकम्प पीडितका लागि आउने तीनलाख रुपैंयामा अनुदानको घर उनीहरुले बनाएका स्थानीयबासी बताउँछन् । अरुले भन्दा धेरै नै सस्तो दरमा काम गर्ने भएकाले गाउँलेले उनीहरुलाई खोजीखोजी काम दिने गरेको स्थानीयबासीको भनाइ छ । ‘घाटा पर्छ कि के हो कुन्नि, एकदम सस्तोमा ठेक्का लिन्छन्’, उनीहरुबाटै घर बनाएका ग्यासुद्धिन मियाँले भने, ‘सामान हामीले जुटाइदिए उनीहरुले एकलाख २५ हजारमा दुई कोठे घर बनाइदिन्छन् । आरसीसी घर पनि बताउँछन् ।’
आफ्नो देशभन्दा नेपाल धेरै शान्त र सुरक्षित पाएको उनीहरुको भनाइ छ । ‘हामीले नेपालको जहाँ गएपनि असुरक्षित ठान्दैनौं । नेपालीले हामीलाई एकदम माया गर्दारहेछन्’, अब्बुलले अनुभव सुनाए ।
उनीहरु नेपाल टेलिकमको मोबाइल समेत प्रयोग गर्ने गर्छन् । काठमाडौंमा काम लगाउने एकजना राजु थापा मगर भन्ने साहुले मोबाइल पनि दिएको उनी बताउँछन् । शुक्रबार शुक्रबार काठमाडौंको जामे मस्जितमा नमाज पढ्न जाने क्रममा एक साथीले गोरखामा कामका लागि सम्पर्क गराइदिएको उनीहरु बताउँछन् ।

काठमाडौंमा उनीहरुको परिबार कपनको शिविरमा बस्छन् । ‘शिविरमा तीनसय ८० जना छौं’, उनले भने, ‘कोही काठमाडौंमै, कोही बनेपा, कोही सुनसरी र कोही गोरखामा काम गर्छौं ।’ संयुक्त राष्ट्रसंघले भत्ता दिन छाडेकाले हातमुख जोर्न काम काम खोज्दै शिविर बाहिर निस्केको उनीहरुको भनाइ छ । ‘पहिले त युएनले पाँचहजार सातसय ५० रुपियाँ भत्ता दिन्थ्यो । तीनबर्ष यता भत्ता दिनै छोड्यो । पेट पाल्नु त प¥यो त्यसैले शिविर बाहिर निस्केको हो’, अब्बुलले भने, ‘हामीसंग यूएनको परिचयपत्र हुन्छ । महिला र बालबालिकाहरु शिविरमै बस्छन् । अरु सबै काम गर्न बाहिर निस्कछन् ।’ कामको सिलसिलामा जुन ठाउँमा पुगेपनि महिनामा एकफेर संयुक्त राष्ट्रसंघको कार्यालय पुग्नु पर्ने उनी बताउँछन् । ‘महिनामा एकफेर क्याम्प जान्छौं, यूएनको अफिस पनि जानुपर्छ’ उनले भने ।
धार्मिक द्वन्द्व बढेपछि सन् २०१२ मा मोहम्मद सुदुल आलिम, मोहम्मद हसन र आफू तीन जना मात्र पहिलो पटक नेपाल आइपुगेको उनले बताए । ‘हाम्रा आफन्त, साथीभाइ, छिमेकीलाई कतिलाई मारे अनि हामी भागेर ज्यान जोगाउन बंगलादेश हुदै नेपाल आइपुगेको हो’, उनले भने, ‘काठमाडौं आइपुगेपछि प्रहरी कार्यालय अघि गएर हामी यसरी भागेर आएका हौं भन्यौं । पक्राउ गरेर भित्र राख्ला, अनि प्रहरीले खान बस्न देला भनेको त वास्तै गरेन । पछि धेरै जना आइपुगे अनि यूएनले क्याम्पमा राख्यो ।’
बर्माको रखायन प्रान्त(स्थानीय भाषामा आर्कानी)का तीनसय ८० जना रोहिंग्या सन २०१२ मा शरणार्थीको रुपमा बंगलादेश हुदै नेपाल प्रवेश गरेका हुन् । शरणार्थीलाई शिविरबाट बाहिर निस्केर काम गर्नुलाई अबैध मानिए पनि उनीहरु बिगत तीनबर्षदेखि गोरखामा काम गरिरहेका हुन् ।
शरणार्थीहरुले गोरखामा काम गरिरहेको बारे आफूलाई केही जानकारी नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले बताए । ‘गोरखामा पनि शरणार्थी छन् र ?’, उनले भने, ‘के रहेछ यस बारेमा म बुझ्छु ।’




