| आइतवार, कार्तिक २९, २०८३

सामागाउ र साम्दो तीनसातादेखि हिउभित्रै, हिउपहिरोको त्रासले ४५ घरधुरी बिस्थापित, संरक्षित कस्तुरी, नाउर, थार मर्न थाले

 

गोरखाका दुईवटा हिमाली गाउँ तीनहप्ता देखि हिउँभित्र पुरिएको छ । चुमनुब्री गाउँपालिका १ सामागाउँ र साम्दो ल्होसारदेखि नै हिउँले पुरिएको स्थानीयबासीको भनाइ छ ।
गाउँमा साँढे सात फिट भन्दा बाक्लो हिउँ जमेको साम्दोका निमा दोर्जेले बताए । ‘हाम्रो गाउँको एकतले घर साँढे छ फिट अग्लो हुन्छ । एकतले घर त सबै ठ्याम्मै पुरिएको छ’, वडा नं. १ का सदस्यसमेत रहेका निमा दोर्जेले भने, ‘दुईतलेकोचाहिँ माथिल्लो तलामात्र जमिनमाथि देखिन्छ ।’ २० बर्षपछि गाउँमा यत्तिका हिउँ परेको उनले बताए ।


बाक्लो हिमपातले जनजीवन ज्यादै कष्टकर र अत्यासलाग्दो भएको उनको भनाइ छ । ‘हिउँ थपिएको थपियै छ । एउटा घरको मान्छे अर्को घरमा जान सक्ने अवस्था छैन’, उनले भने, ‘घाँस, पराल, पानी नपाएर घरपालुवा जनावरको पनि बिचल्ली छ ।’ हिउँ पहिरोको डरले साम्दोको माथिल्लो टोलका करिब ४० घरका बासिन्दा तल्लो टोलमा सरेर बसेको उनको भनाइ छ । ‘२० बर्षअघि पनि गाउँमा हिउँ पहिराले घर, गोठ, गुम्बा सबै लगेको रहेछ । अहिले पनि त्यस्तै हिउँपहिरोको डरले गाउँलेहरु तल्लो टोलमा सरेर बस्छन् । बिहान र बेलुवा गाईबस्तुलाई खानेकुरा दिने बेलामा मात्र माथिल्लो टोलमा जान्छन्’, उनले भने । सामागाउँका करिब १२० घरधुरी पनि हिउँले पुरिएको वडा नं. १ का अर्का वडा सदस्य मिङ्मार लामाले बताए । ‘एकतले घर त जति खोतल्दा पनि भेटिएको छैन’, उनले भने, ‘बारीमा र जंगलमा छोडिएको याकचौरी त कति म¥यो, अत्तोपत्तो छैन । खोज्न जाउँ भने मान्छे पनि मर्छ कि भन्ने डर छ ।’ दुईतीन हप्तादेखि हिउँभित्रै बस्नु पर्दा गाउँलेहरु आत्तिएको उनले बताए । सामागाउँ ३५२० मिटर उचाइमा रहेको गाउँ हो भने साम्दो ३७०० मिटर उचाइमा रहेको गाउँ हो ।

बाक्लो हिमपातका कारण लोपोन्मुख जनावरहरु पनि मर्न थालेका छन् । जंगली कुकुरले बहुमूल्य कस्तुरी, नाउर, थारलाई मारेको मिङ्मारले बताए । ‘हिउँ परेपछि ती जनावर भाग्न सक्दैनन् । अनि जंगली कुकुरले धमाधम मारेको भेटिएको छ’, उनले भने, ‘तीनवटा कस्तुरी, चारवटा नाउर र चार वटा थार मारेको हामीले फेला पारेका छौं । हामीले फेला नपारेको त कत्ति छ कत्ति ।’ गाउँमा बिपत्ति पर्दा सरकार र जन प्रतिनिधिले वास्ता नगरेको भन्दै स्थानीय बासीले दुख व्यक्त गरेका छन् । ‘हाम्रो नजिकैको तिब्बती गाउँहरुमा सरकारले मान्छेलाई केही समस्या हुन दिएको छैन ।

याक चौरीलाई समेत गाडीमा घाँस ल्याएर बाँडेको समाचार हाम्रा साथीहरुले सामाजिक सञ्जालहरुमा पोष्ट गरिरहेका छन् । तर हाम्रो सरकारले पशु चौपायाको परै जावस्, मान्छेलाई कस्तो छ ? कसरी बसेका छौं, जोगिएर बस भनेरसम्म सम्बोधन गरेका छैनन्’, निमा दोर्जेले भने, ‘हामीले पनि भोट दिएर जिताएर पठाएका थियौं । तर दुख परेका बेला हाम्रो हाम्रो पनि सरकार छ, संरक्षण गर्छ । अभिभावक छ भन्ने महशुस भएन । हामी सरकारबिहिन टुहुरा जस्तो अनुभव गरिरहेका छौं ।’

ठूलो कुरा केही गर्न नसकेपछि फोन गरेर अबस्था बुझ्ने, सहानुभूति दिने सम्म पनि नगरेको भन्दै उनले दुख ब्यक्त गरे ।’

प्रतिक्रिया दिनुहोस्