
गोरखा गेटको निर्माण रोक्न सडक कार्यालयको पत्राचार
किरण लोहनीः
मझुवा देउरालीमा निर्माणाधीन ‘गोरखागेट’को निर्माणको काम रोक्न डिभिजन सडक कार्यालय दमौलीले गोरखा नगरपालिकालाई पत्राचार गरेको छ ।
निर्माण प्रक्रिया कानूनसम्मत नभएको भन्दै निर्माण कार्य रोक्न डिभिजनले पत्र पठाएको हो ।
आँबुखैरेनीदेखि गोरखासम्मको २४ किलोमिटर सडक डिभिजन सडक कार्यालय दमौली मातहत रहेको छ । तर डिभिजनसंग अनुमति नलिई निर्माण कार्य थालिएको डिभिजनको तर्क छ । डिभिजनले सार्वजनिक सडक ऐन २०३१ विपरीत सडक विभागसँग पूर्व स्वीकृति र समन्वय नगरी स्थायी संरचना निर्माण भैरहेकाले काम रोक्न पत्राचार गरिएको डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताए । ऐनको परिच्छेद ३ मा भएको ब्यवस्था अनुसार निर्माण रोक्न भनिएको उनको भनाई छ ।
परिच्छेद ३ को दफा २० मा भनिएको छ, ‘कसैलाई कुनै कामको निमित्त सार्वजनिक सडक वा सडक सीमा खन्नु वा भत्काउनु परेमा सडक विभागको स्वीकृति लिनु पर्नेछ र त्यसरी स्वीकृतिको लागि माग गरेमा सडक विभागले आवश्यक जाँचबुझ गरी त्यसरी खनिने वा भत्काउने सार्वजनिक सडक वा सडकसीमालाई मर्मत गरी पूर्वानुरूपमा कायम गर्न लाग्ने खर्चको रकम धरौटी लिई स्वीकृति प्रदान गर्न सक्नेछ ।’ तर त्यहाँ सडक खन्ने वा संरचना बनाउने प्रयोजनका लागि कसैले स्वीकृति नलिएको काफ्लेले बताए । ‘सडक संरचना भत्काइएको छ तर कसले के बनाउन लागेको हो भन्नेसम्म पनि थाहा छैन’ उनले भने, ‘हाल भैरहेको संरचना हटाई सडक यथावस्थामा राख्न भनेका छौं । सडकलाई समेतक्षति पु¥याई सडकको संवेदनशील सीमा क्षेत्रभित्रै संरचना निर्माण भैरहेकाले रोक्नु परेको हो ।’
निर्माण प्रक्रिया कानूनसम्मत नभएको भन्दै
निर्माण कार्य रोक्न डिभिजनले पत्र पठाएको हो ।
सडक विभागको सम्भार महाशाखा, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाको कार्यालय लाई बोधार्थ दिएर पत्राचार गरिएको डिभिजन प्रमुख काफ्लेको भनाई छ ।
‘हाल भैरहेको निर्माण कार्य रोक्ने कार्यमा सहयोग गर्न प्रशासन कार्यालय गोरखालाई पत्र लेखेका छौं र सम्बन्धित अरु कार्यालयलाई वोधार्थ पत्र पठाएका छौं’ उनले भने, ‘हाल भैरहेको निर्माण कार्य रोक्न लगाई सडकलाई यथाअवस्थामा राख्नका लागि प्रशासनलाई आग्रह गरेका हौं ।’ गोरखा नगरपालिकाले भने स्वागतद्धार निर्माणको फाउण्डेशन को काम सकिसकेको जनाएको छ । गोरखा गेट बनाउन लागिएको बारे सडक कार्यालयसँग पूर्व स्वीकृति नलिइएको स्वीकार्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले बाँकी काम प्रक्रिया पु¥याएर गर्ने बताइन् । ‘ठेक्का लगाएर गेट बनाउने कामतिरै बढि ध्यान गयो’, उनले भनिन्, ‘त्यतिबेला ख्याल गरिएन । अब थप बुझेर बाँकी प्रक्रिया पूरा गर्छौं ।’
तनहुँको आँबुखैरेनी हुदै गोरखा जिल्ला प्रवेश गर्ने मझुवा देउरालीमा नगरपालिकाले गोरखा गेट बनाउन लागेको हो । गोरखा नगरपालिकाले गेट निर्माणका लागि चालु आर्थिक वर्ष ५० लाख रुपैंया वजेट विनियोजन गरेको छ । गेटमा गोरखाको पहिचान खुकुरीक्रस सहित अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने खालका चित्रकला एवं सामग्रीहरु पनि राखिने बताइएको छ । गोरखागेटको निर्माण जिम्मा सुसु इञ्जिनियरिङ एण्ड कन्स्टूक्शन प्रालिले लिएको छ ।




