
घरखर्चमै सकियो बुढीगण्डकीको मुआव्जा
सहिद लखन गाउँपालिका ९ माझीटारका अर्जुन माझीले घरबारी सरकारलाई बुझाएबापत बुढीगण्डकी जलविद्युत आयोजना बाट पाँचलाख ३६ हजार रुपियाँ पाए । गत साउनमा पाएको सो रकममध्य अहिले उनीसंग डेढलाख रुपियाँ मात्र बाँकी छ ।
‘दशैं मानियो, तिहार मानियो । दुख बिमार यताउता गर्दागर्दै सिद्धिसक्यो’, माझी भन्छन्, ‘पुग नपुग डेढलाख जति बाँकी होला ।’ पाएको पैसा बैंकमा पनि नराखेको उनी बताउँछन् । ‘धेरै भए पो बैंकमा राख्नु’ उनले भने, ‘अलिअलि रिन तिरियो । बाँकी रहेको घरखर्चमै सकिन लाग्यो ।’
अर्का स्थानीय पुर्णबहादुर माझीको पनि उस्तै अबस्था छ । चाडबाडको मुखमा पाएको मुआव्जा रकम धेरैजसो चाडबाड मान्नमै खर्च भएको स्थानीयबासी बताउँछन् । ‘धेरै जग्गा हुनेले धेरै पाए होलान् । हामी थोरैजग्गा हुनेले अलिअलि पाएका थियौं’, स्थानीय सुनिता माझी भन्छिन्, ‘कसैकसैले जोगाएर राखेका होलान् । हाम्रो अशिक्षित समाज, हातमा पैसा परेपछि खाइपिइमै धेरै खर्च गर्छन् । कतिले त घरखर्च गरेर सकिसक्न लागे ।’ मुआव्जाको रकम भन्दा घरबास उठ्नेहरुलाई रोजगार, आयमुलक तालिम र पुनर्बास दिएको भए बेस हुने उनको तर्क छ । ‘खर्च गर्न जान्नेलाई पैसा दिएर के गर्नु ?’, उनी भन्छिन्, ‘घर बनाइदिएको भए, रोजगार दिएको भए राम्रो हुन्थ्यो बरु ।’
मुआव्जाबापत धेरै रकम पाउनेले काठमाडौं, पोखरा, चितवनका सहरहरुमा घरजग्गा जोडे पनि थोरै जग्गाजमिन हुनेको पैसा सदुपयोग हुन नसकेको अर्का स्थानीय कमला परियारको भनाइ छ । ‘हामीले त दुई आना जग्गाको जम्मा ४८ हजार रुपियाँ पायौं । कर तिर्नुपर्छ भनेर त्यसमा पनि पाँचसय रुपियाँ काट्यो’, उनी भन्छिन्, ‘त्यति पैसाले कहाँ जग्गा लिने, कहाँ घर बनाउने ? के खाने, के लाउने ? त्यही भएर हामीलाई त पैसा भन्दा पनि एक कोठे भए पनि दुई कोठे भए पनि बस्ने बास दिए हामी त्यसैमा खुशी हुनेथियौं ।’
मुआव्जा वितरण भएपछि गाउँमा मादक पदार्थ सेवन गर्ने क्रम पनि बढेको स्थानीयको भनाइ छ । ‘मुआव्जाको पैसा हात परेपछि कतिपय मान्छे त बिहानदेखि नै रक्सी खाएर मात्ने पनि गरे’, नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एक स्थानीयले भने, ‘जहान छोराछोरीलाई हप्कीदप्की लाएर घरबारीको पैसा आफूले मात्र लिएर त्यतिकै सकेका छन् ।’
अहिलेको बास पनि उठ्ने, पछि घरजम गर्ने पैसा पनि नभएपछि बिस्थापितको बिचल्ली हुने भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । ‘एक रोपनीको छ लाख पाइयो । छ लाखले घरडेरी किनौंला, बसौंला भन्ने आश छैन’, सुनिता माझी भन्छिन्, ‘हाम्रो गाउँका धेरैजसो मान्छेको धेरै छोराछोरी छन् । उनीहरुलाई पनि घर चाहिन्छ । त्यो छ लाख लिएर कहाँ जाने, के खाने, के लाउने त ?’ बसिरहेको थातथलो छोडेर जानेको बारेमा सरकारले गम्भीर भएर सोच्नु पर्ने स्थानीयबासीको माग छ ।




